» » फोरमले काठमाडौ केन्द्रित आन्दोलन गर्ने

काठमाडौं, माघ ९ गते ।– आन्दोलनरत मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम, नेपालको शुक्रवारदेखि जारी दोस्रो केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक, सांगाठनिक र आर्थिक प्रतिवेदन माथिको छलफल सुरु भएको छ ।

पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रम जारी छ । मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् ।

‘मधेशका जिल्लाहरु जस्तो काठमाडौं र जनजाति बाहुल्य क्षेत्रमा आन्दोलन उठ्न नसकेकोमा पार्टीले यसको कारण पत्ता लगाई समिक्षा गर्नु पर्छ’, केन्द्रीय सदस्य विर बहादुर लामाले बैठकमा भने, ‘काठमाडौंले ठूलो धक्का दिन जरुरी छ ।’ ‘शान्तिपूर्ण रुपमा पाँच महिनादेखि आन्दोलनरत मधेशी जनताको टाउको र छातीमा ताकी ताकी गोली हानी हत्या गर्न पल्केको सरकारलाई तह लगाउन काठमाडौं केन्द्रीय आन्दोलन चर्काउनै पर्छ’– लामाले भने ।

 पहिचान र अधिकारका लागि प्रहरीको गोली खाएर मधेशी जनता सडकमा मरिरहँदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति उनले चर्को असन्तुष्टि पनि पोखेका छन् ।

केन्द्रीय सदस्य विश्वनाथ पटेलले मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

 यसैगरि, केन्द्रीय सदस्य आरसी तुङ्बाले वार्ता भन्दा पनि माग तुहाउन सरकार चरम दमनमा उत्रेको भन्दै चर्को असन्तुष्टि पोखे । आन्दोलन सँगै राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले ठोस कदम चाल्न पनि उनीहरुको सुझाव छ ।

राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको छ ।

 नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । पहिचान केन्द्रीत राजनीतिक शक्तिहरुसँग बृहत् गठबन्धन गर्दै काठमाडौं केन्द्रित विद्रोह हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ  ।

शनिवार केन्द्रीय सदस्यहरुले सुझावसहित आ–आफ्नो भनाई राखिसकेपछि बैठक ठोस निष्कर्षमा पुग्ने पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

शनिवार सम्पन्न हुने फोरम नेपालको केन्द्रीय बैठकले नेपालको वर्तमान राजनीति अवस्था, जारी मधेश आन्दोलन, पार्टीको भावी कार्यदिशा र आन्दोलनमा पार्टीको भूमिका लगायतका एजेन्डामा बैठक केन्द्रीत रहेको छ ।

मधेसमा पाँच महिनादेखि आन्दोलन जारी रहेको र सरकार–मोर्चाबीचको वार्ता सफल नभइरहेको बेला आन्दोलनरत मोर्चाको प्रमुख घटक फोरम नेपालले केन्द्रीय बैठक आह्वान गरेपछि यसलाई बडो महत्व र चासोका साथ हेरिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..