» » सिचाइ मन्त्रीकै जिल्लामा सिचाइको यो अवस्था

सांकेतिक फोटो
सप्तरीको तिलाठी गाविस हुँदै भारततिर बग्ने खाँडो तथा जिता नदीको मुहान पुरिएको पाँच वर्षभन्दा बढी भयो । यसबाट तिलाठीसहित त्यस क्षेत्रका लौनियाँ, सकरपुरा, रम्पुरा मल्हनियाँ, कोइलाडी, लालापट्टिलगायत आधा दर्जन गाविस बर्खामा डुवानमा पर्छन् । सयौं बिघा बाली बर्सेनि नष्ट हुँदै आए पनि राज्यले बाढी नियन्त्रण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ।


नदी नियन्त्रणमा राज्यको बेवास्ता र नदीको मुहानै ठप्प हुने गरी दसगजा क्षेत्रमा भारतले बनाएको बाँधका कारण समस्या निम्तिएको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्र बताउँछन् । पुरिएको नदीको मुहान खोल्न नसक्दा राजविराज–कुनौली सडकअन्तर्गत रहेको खाँडो पुलसमेत कामै नलाग्ने भएको छ । तिलाठीदेखि रम्पुरा मल्हनियाँ हुँदै भारतीय सीमासँग जोड्ने यस खण्डको झन्डै तीन किलोमिटर सडकसमेत क्षतिग्रस्त रहेको स्थानीय बताउँछन् ।

‘समस्याको जड भनेको खाँडो नदी नियन्त्रणप्रति राज्यको उदासीनता नै हो,’ मिश्र भन्छन्, ‘सिडिओ, सभासददेखि मन्त्रीसम्मले आश्वासनबाहेक केही दिएनन् ।’ सदरमुकाम राजविराज भएर बग्ने भलुवाही नदीबाट बर्सेनि सदरमुकामबासी प्रताडित हुन्छन् । बाटोघाटो र सार्वजनिक जग्गा मात्रै नभई नदीछेउ बसेका सर्वसाधारणका घरसमेत बाढीले बगाउँछ । सदरमुकाम राजविराजबाहेक नदीले विषहरिया, कोचावखारी, लालापट्टिलगायत गाविसलाई सास्ती दिने गरेको छ । जिल्लाको पश्चिमी भेगका खड्ग, बलान, पाँची, मुतनीलगायत गाविसलाई पनि बाढीले बर्सेनि पीडित तुल्याउँदै कोसीपीडित समाज सप्तरीका संस्थापक देवनारायण यादवको भनाइ छ ।

मुलुककै पहिलो सिँचाइ प्रणाली चन्द्र नहर सप्तरीमै छ । तर, प्रयोग गर्न सकिने अवस्थामा छैन । यसको सिँचाइ क्षमता १० हजार पाँच सय हेक्टर रहेको छ । तर, विभिन्न ठाउँमा नहर भत्किनुका साथै अतिक्रमण गरिएकाले सिँचाइ सुविधा पु¥याउन नसकेको नहर जल उपभोक्ता समिति अध्यक्ष बद्रीमहात्मान यादवको भनाइ छ ।

त्यस्तै, कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार तीन सय हेक्टरमा सिँचाइ गर्ने रहे पनि ६ हजार ६ सय १६ हेक्टरमा मात्र पुगिरहेको छ । कोसी वितरण प्रणालीले ११ हजार सात हेक्टरमा सिँचाइ गर्नुपर्नेमा ७ हजार ८ सय ५३ हेक्टरमा मात्र सिँचाइ सुविधा पु¥याइरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले ३ हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिँचाइले २ हजार २५ सय हेक्टरमा मात्र सिँचाइ सुविधा पु¥याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । पर्याप्त सिँचाइ नहुँदा जिल्लाको धन उत्पादनमा झन्डै ३३ प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ ।

लामो समयदेखि नदी नियन्त्रण तथा सिँचाइ प्रणालीको जीर्णोद्धारप्रति सरकार उदासीन रहेको गुनासो गर्दै आएका सप्तरीबासी यसपटक जिल्लाबासी उमेशकुमार यादव सिँचाइमन्त्री भएपछि हौसिएका छन् । ‘विकासप्रति जागरुक नेताका रूपमा उहाँ परिचित हुनुहुन्छ, उहाँप्रति हामी आशावादी छौं,’ सकरपुराका निवर्तमान गाविस अध्यक्ष गनु मुखियाले भने । खास गरी नदी नियन्त्रणदेखि सिँचाइ व्यवस्थापनसम्म उपभोक्ता समितिले राम्ररी काम नगर्दा समस्या बढेको मुखियाको भनाइ छ । उनी भन्छन्, ‘उपभोक्ता समितिले स्वतन्त्र ढंगले प्रभावकारी रूपमा अनुगमनसहित काम गर्नुपर्छ ।’

‘समस्या समाधान हुन्छ’

सिँचाइ मन्त्री उमेशकुमार यादवले भने सप्तरीमा देखिएको नदी नियन्त्रण समस्या र सिँचाइ समस्या हल गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । ‘सप्तरीको समस्या मैले राम्ररी बुझेको छु, मन्त्री भएदेखि नै यो समस्या समाधान निम्ति पहल गरिरहेको छु,’ मन्त्री यादवले भने ।

खाँडो र जिता नदीको मुहान खुलाउन यसै वर्षदेखि च्यानल निर्माण कार्य प्रारम्भ गरिने उनले बताए । यसनिम्ति आवश्यक अध्ययन टोली फिल्डमा खटाइसकेको मन्त्री यादवले जानकारी गराए । यता, सदरमुकाम राजविराज क्षेत्रमा देखिएको भलुवाही नदीको समस्या समाधाननिम्ति राजविराजस्थित कञ्चनपुर रोडदेखि रन्जितपुरसम्म नदीको दुवैतिर आएसीसी ढलान तथा नदीको दुवै किनारमा सडक निर्माण कार्य गर्न बहुवर्षीइ टेन्डर प्रक्रिया आह्वान गरिने मन्त्री यादवले जनाए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..