» » मधेश एक छुट्टै राष्ट्र हो–ठाकुर

काठमाडौ पुस १३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पूर्वका झापा, मोरगं र सुनसरी तथा पश्चिमका कञ्चनपुर र कैलाली जिल्ला मधेश क्षेत्रकै भएका कारणले मधेश प्रदेशमा राख्नु पर्ने बताउनु भएको छ ।

हिजो पत्रकार प्रशान्त झाद्धारा लिखित ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ पुस्तकको नेपाली अनुवाद गणतन्त्रको संघर्ष सार्वजनिक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष ठाकुरले विवादित यी पाँच जिल्ला हरेक प्रकारले मधेश क्षेत्र भएको, त्यहाँको भाषा, सँस्कृति, रहनसहन सबै मधेशी भएकाले मधेश प्रदेशमा राख्नुपर्ने बताउनु भयो ।

उहाँले तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालासँग भएको आठ बुँदे सम्झौता अनुसार पनि मधेशका सम्पूर्ण भूभाग स्वायत्त मधेश प्रदेशमा रहनु पर्ने उल्लेख गर्दै अन्तरिम सविधानमा पनि यो कुरा उल्लेख भएकाले यसमा धेरै विवाद गर्न नहुने तर्क गर्नुभएको थियो ।

पहिलो सविधानसभाको राज्य पुनः संरचना समिति र सरकारले गठन गरेको राज्यपुनःसंरचना तथा शक्ति बाँडफाँड उच्चस्तरीय आयोगले पनि यी पाँच विवादित जिल्लालाई मधेश प्रदेशमा राखि सकेका हुनाले अब यो मधेश प्रदेशमा होइन भन्नु राजनीतिक बेइमानी हुने बताउनु भयो ।


मधेश आफैमा एक अलग राष्ट्र हो, मधेशको आफ्नै भाषा छ, आफ्नै भूमि छ, आफ्नै सँस्कति छ, आफ्नै प्रकारको रहन सहन रहेकाले मधेश आफैमा एक राष्ट्र भएको बताउँदै अध्यक्ष ठाकुरले यहाँ नेपाली राष्ट्रियताको गलत परिभाषा भइरहेको आरोप पनि लगाउनु भयो । एउटै भाष, एउटै भेषको रुपमा राष्ट्रियताको परिभाषा भइरहेको छ, त्यसो भए मधेश नेपाली राष्ट्रियताभित्र पर्दैन, हामी धोती लगाउँछौ त्यसो भए हामी नेपाली होइनौ भनि प्रश्न गदै अध्यक्ष ठाकुरले भन्नुभयो, मधेश छुट्टै राष्ट्र हो भनि प्रष्ट छ ।’

पहिलो सविधानसभामा नेपाल बहुराष्ट्र हो भनि कुरा उठेको थियो, त्यसमा कुरा पनि मिलेको थियो तर अहिले आएर त्यसलाई परिवर्तन गरि बहुजातिय राखेको छ, अहिलेको सविधानमा यस्ता धेरै कुराहरु परिवर्तन गरिएको उहाँले दावी गर्नुभयो ।

 भारतसँगको सम्बन्धको बारेमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘मधेशीलाई मात्र भारत नजिकको रहेको आरोप लाग्नु गलत हो, भारतसँग सबै नजिक हुनका लागि सबै मौकाको तलाशमा हुन्छन् । सरकारले हाम्रो लागि ल्याएको तीन बुँदे प्रस्ताव हामीले भारतबाट प्राप्त गरेको हौं । अहिले त्यसलाई अलि यताउति परिमार्जन गरेर हामीलाई आधिकारिक रुपमा बुझाएको छ । अब तपाईहरु नै भन्नुस् भारतसँग को नजिक छ र को टाढा ।

नेपाल काँग्रेसका नेता प्रदीप गिरीले पनि नेपाली राष्ट्रवादको गलत व्याख्या भएको बताउँदै यहाँका राष्ट्रवाद खास वर्ग, समुदायले हुकाईरहेका छन् जसको जरा काठमाडौमा रहेको टिप्पणी गर्नुभयो । मधेश आन्दोलन जायज रहेको छ तर त्यसलाई मधेशवादी दल र राज्यले आआफ्नै ढंगबाट ब्याख्या गरेको बताउँदै नेता गिरीले राष्ट्रियताको सवालमा नेताहरुले मधेशको बारेमा राज्यलाई बुझाउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले नेपाल सर्वभौमराष्ट्र हो भने कुरा भारतलाई पचेको छैन त्यही भएर नेपालमा यत्रो समस्या भएको उल्लेख गर्दै नेपालमाथि भारतको हस्तक्षेप आजको नभएर शदियौंदेखि आइरहेकाले यो अहिले आएर यस्तो भएके हो भन्नु गलत हुन सक्ने धारणा राख्नु भयो । समावेशी नभएको राष्ट्रवाद, राष्ट्रवाद हुन नसक्ने धारणा राख्दै उहाँले मधेशी जनताले उठाउँदै आएको मुख्य माग समावेशी नै हो ।

राज्यको हरेक निकायमा मधेशीलगायत अन्य सिमान्तकृत समुदायको प्रतिनिधित्व हुनुपर्ने हो त्यो भए मात्र राष्ट्रियता बलियो हुने तर्क गर्नुभयो ।

पुस्तकका लेखक पत्रकार झाले नेपालको हरेक राजनीतिकमा भारतको हस्तक्षेप रहेकाले भारत आफ्नो भूमिका खोज्नु गलत नभएको टिप्पणी गर्नुभयो । नेपाल सरकार र मधेशी मोर्चाबीच भएको आठ बुँदे सम्झौता भारतकै सहयोगमा भएको हो तर नयाँ सविधानले त्यो आठ बुँदे सम्झौतालाई नसमेटेको कारण भारतले चित्त दुखाएको उहाँले धारणा थियो ।

 शान्ति सम्झौतादखि लिएर सविधानसभाको चुनाव, प्रधानन्यायधिश खिलराज रेग्मीको नेतृत्वमा सरकार, दोस्रो सविधानसभा सबै भारतको सहयोगमा भएका हुनाले वर्तमान राजनीतिकमा भारतले आफ्नो ठाउँ खोजेको बताउनुभयो ।

पत्रकार झाद्धारा लिखित ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ पुस्तकको नेपाली अनुवाद ‘गणतन्त्रको संघर्ष’ उज्जव प्रसाईले गर्नुभएको छ । सार्वजनिक पुस्तकको टिप्पणी नारायण वाग्ले र सुरभी पुडासैनीले गर्नुभएको थियो । कार्यक्रममा कस्तो राष्ट्रवाद र कसको राष्ट्रवाद भनि बहस पनि चलाइएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..