» » मधेशी मोर्चाको वार्तापछि कोइरालाले भने, सुष्मा स्वराजले नागरिकताको बारेमा गलत टिप्पणी गरिन्

काठमाडौं, पुष ४ गते । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मधेशको समस्या छिट्टै समाधान हुने बताएका छन् । समस्या समाधानमा सबै पक्ष गम्भीर भई निरन्तरको वार्ता र छलफलबाट समाधानको सूत्रहरु निस्कन थालेको बताए ।
आज मधेशी मोर्चासँग वार्ता गरेपछि आयोजित साक्षात्कार कार्यक्रममा बोल्नु हुँदै सभापति कोइरालाले ‘मधेशको समस्या समाधान हुन्छ हुन्छ हुन्छ,’ कोइरालाले भने, ‘समस्या समाधान भई देश शान्ति र समृद्धीको मार्गतर्फ अगाडि बढ्छ बढ्छ ।’
संविधानमा समावेशी समानुपातिकको सवाल, कुनैपनि जिल्लाको प्रतिनिधित्व नछुटाइ जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम राख्ने र सीमांकनबारे तीन महिनामा कुरा मिलाउनेमा सहमति गरेर जान सकिने उनले बताए । जब कि यी कुरा मधेशी मोर्चा अस्वीकार गरिसकेका छन् ।
नागरिकताको विषयमा बाहिर होहल्ला गरेजस्तो समस्या नभएको बारे सबै पक्षले आत्मासात गरिसकेको उनले बताए । उनले आन्दोलनकारीको जायज मुद्दा सम्बोधन गर्न काँग्रेस दृढताका साथ अगाडि बढेको बताए । समस्या छिट्टै समाधान हुने पक्कापक्की हुनुमा वर्तमान संकटप्रति मधेश केन्द्रित दलहरु पनि चिन्तित हुनु मुख्य कारण भएको कोइरालाको भनाई थियो । समस्या समाधानको विकल्प नभएकोले ढिलाई गर्न नहुनेमा जोड दिए । आपसी द्वन्द्व बढाएर कसैको भलो नहुने भएकाले सबै गम्भीर हुनुपर्नेतर्फ कोइरालाले सचेत गराए ।
नयाँ संविधान संशोधन गरेर समस्या समाधानको बाटो निस्कने बताए । उनले भने, ‘संविधान ढुंगामा लेखिएको अक्षर होइन जुन परिवर्तन गर्न नसकियोस्,’ कोइरालाले भने, ‘छलफल र सहमतिबाट जायज मागको सम्बोधन गर्छौं ।’ संविधान सम्झौताको दस्तावेज हो भन्दै सहमति र सम्झौताबाट सुधार गर्दै लान सकिने औल्याए । जायज मागलाई बेवास्ता गरी आन्दोलनरत दलहरुलाई भित्तामा पु¥याउने क्रियाकलाप मान्य नहुने उनले बताए ।
मधेश केन्द्रित दलको ११ बुँदे मागप्रति नेपाली काँग्रेस गम्भीर भएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति कोइरालाले सीमांकनबारे समय लिएर कुरा मिलाउने सहमति हुने विश्वास व्यक्त गरे । आन्दोलनकारी दलहरुले माग सम्बोधन हुनेमा शंका जाहेर गरेको उल्लेख गर्दै आफूहरुबाट त्यस्तो नहुने उनले बताए ।
आफूहरुसँगको वार्तामा मधेश केन्द्रिद दलहरुले धोकाधडीको शंका गरेकोप्रति कोइरालाको जवाफ थियो, ‘काँग्रेसले सहमति गरेर कहिले धोकाधडी गरेको छैन । मैंले उहाँहरुलाई स्पष्ट सँग भनेको छु कि शंका नगर्नुहोस् काँग्रेस धोकाधडी गर्दैन सहमति गरेको पालना हुन्छ ।’ आफ्नै देशभित्रका साथीहरुलाई छक्काउने सवाल नहरने उनले दावी गरे । कोइरालो भने, ‘कसले कस्लाई छक्याउने ? आफ्नै दाजुभाई’ आन्तरिक समस्यालाई एउटै घरपरिवार सम्झेर समाधानको बाटो निकाल्न तयार हुनुपर्नेमा जोड दिए ।
मधेश केन्द्रित दलहरु आन्दोलन चर्काउने दिशामा उन्मुख भएकोबारे सोधिएको प्रश्नमा कोइरालाले आन्दोलनले समस्याको समाधान ननिस्कने बताए । कोइरालाले सहमतिको अर्को बाटो नभएकाले जतिसक्दो छिटो परिणाममुखी वार्तामा बस्नुपर्नेमा उनले जोड दिए । आफूहरु मधेश केन्द्रित दलले भनेको जुनसुकै ठाउँमा पुगेर वार्ता गर्न तयार भएको बताए । उनले भने, ‘संकट समाधान भई देशले निकास पाउँछ भने हिमाल, पहाड र मधेश जहाँसुकै वार्ता गर्न सकिन्छ ।’ आन्तरिक समस्या समाधान नहुँदा देशभरका जनताले दुःख भोगिरहेकोतर्फ जिम्मेवार बन्न आग्रह गरे ।
कोइरालाले नयाँ संविधानलाई दक्षिण एशियाकै उत्कृष्ट संविधान भने । दुनियाँको जुनसुकै संविधानमा कमी कमजोरी हुने र यसमा पनि भएको भए छलफल गरी सुधार्न सकिने बताए । उनले भने,‘म चुनौतीका साथ भन्छु कि दक्षिण एशियामा यति उदार संविधान अन्त कतै छैन ।’ नागरिकतालगायतको विषयमा भ्रम सृजना गर्न खोजिएकोतर्फ ध्यानाकर्षण भएको बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले समेत राज्यसभामा नेपालबारे बोल्दा नेपालको संविधानमा नागरिकताबारे गलत टिप्पणी गरेको भन्दै असन्तुष्टि जाहेर गरे ।
वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका कोइरालाले विकल्प खोज्ने बेला आइनसकेको बताए । सरकारको विकल्प खोज्दै हुनुहुन्छ भन्ने प्रश्नमा कोइरालाले भने, ‘सरकार बनेको भर्खर ७० दिन पुगेको छ । देश संकटमा परेको बेलामा जिम्मेवार प्रतिपक्षीको हैसियतले विकल्प सोच्नेतर्फ ध्यान दिएका छैनौं ।’ आफूहरुको ध्यान अहिलेको संकट तत्काल समाधान गरी जनतालाई राहत दिनेतर्फ रहेको बताए ।
भारतसँगको सम्बन्ध सुमधुर बनाएर जानुपर्नेमा कोइरालाको जोड थियो । भारतसँग खुल्ला सीमा र सांस्कृति सम्बन्ध रहेको उल्लेख गर्दै छिमेकसँग सम्बन्ध बिगारेर जानुले नोक्शानी पर्ने बताए । देशभित्रको आन्तरिक समस्याले भारतसँगको सम्बन्धमा असर परेकाले समाधानमा सबै जिम्मोवार हुनुपर्ने बताए । उनले भने, ‘कहिले कोशी बेच्यो भन्ने कहिले कर्णाली बेच्यो भन्ने अनि देशलाई सधै अन्धकारमा राख्ने प्रवृत्तिको अन्त हुनैपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भारतसँग जलविद्युतसम्बन्धि महत्वपूर्ण सम्झौता गरेको भन्दै समृद्धीका लागि छिमेकीसँग मिलेर जानुपर्नेमा जोड दिए । देशभित्र ठूलो परिमाणको स्रोत हुँदा हुँदै पनि हात पसारेर हिंड्नुपर्ने परिस्थिति दुःखद भएको बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..