» » वर्तमान मन्त्रीहरुको सम्पति विवरण यस्तो रहेछ,


काठमाडौँ, मंसिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका छन् । ओलीको भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–२ बालकोटमा साढे एक रोपनी क्षेत्रफलमा साढे दुईतले घर छ । झापाको पृथ्वीनगरमा श्रीमती शाक्यकै नाममा १० कट्ठा जग्गा छ भने १३–१४ तोला सुनका गहना छन् । घर, जग्गा र गहना स्वआर्जनबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । ओलीसँग २१ लाख रुपैयाँ नगद छ । श्रीमती शाक्यको नाममा माछापुच्छ्रे र प्रभु बैंकमा क्रमशस् नौ लाख ५० हजार र चार लाख ५० हजार रुपैयाँ छ । ओलीको नाममा एभरेस्ट बैंकमा सात लाख रुपैयाँ मौज्दात छ । प्रधानमन्त्रीपत्नी शाक्यले सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको राष्ट्रिय बचतपत्रमा १५ लाख रुपैयाँ लगानी गरिकी छिन् । सबै रकम स्वआर्जनबाट प्राप्त भएको प्रधानमन्त्रीले जनाएका छन् । उनले आफूसँग भएका कुनै पनि घरायसी उपकरणको विवरण पेस गरेका छैनन् ।
०४८ पछि पटकपटक मन्त्री भएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारको सुनसरी, मोरङ र ललितपुरमा जग्गा छ । गच्छदारले जग्गा आफ्नै, श्रीमती र छोराको नाममा राखेका छन् । सुनसरीको दुहवी नगरपालिका–१० मा दुई कट्ठा सात धुर जग्गा छ । सोही जग्गामा दुई कोठाको टिनको छाना भएको र चार कोठाको पक्की घर छ । गच्छदारकी श्रीमती निर्मलाको नाममा विराटनगर उपमहानगरपालिका–१५ मा १७ कट्ठा दुई धुर जग्गामा पाँच कोठाको पक्की घर छ । सुनसरीको दुहबीमा सगोलमा रहेको पुख्र्यौली जग्गाबाट सात बिघा १४ कट्ठा ६ धुर अंश प्राप्त हुने गच्छदारले बताएका छन् । घरमा दोस्रो तला निर्माणाधीन छ । उनले जग्गा ०३८ मा खरिद गरेको उल्लेख गरेका छन् । श्रीमती निर्मलाकै नाममा विराटनगर–७ मा १७ धुर जग्गा छ । छोरा सुभाष गच्छदारको नाममा ललितपुरको बुङमतीमा १३ आना जग्गा छ । उनले जग्गा स्वआर्जनबाट किनेको उल्लेख गरेका छन् । गच्छदारसँग ७५ तोला सुन र दुई सय ७५ तोला चाँदी छ । सुन र चाँदी पुख्र्यौली तथा स्वआर्जनबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् । गच्छदारसँग २१ लाख ७० हजार रुपैयाँ बैंक मौज्दात छ । गच्छदारपत्नी निर्मलाको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १० लाख ८० हजार, राष्ट्रिय वाणिज्य बैंकमा साढे ९९ हजार, नेपाल बंगलादेश बैंकमा तीन लाख ७२ हजार र सिन्सियर सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभमा एक लाख ६३ हजार रुपैयाँ मौज्दात छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको काठमाडौं महानगरपालिका–४ मा ११ आना र हेटौँडामा १३ धुर जग्गा छ । थापाकी श्रीमती प्रलिताको नाममा हेटौँडामा ४७ कट्ठा र काठमाडौं महानगरपालिका–१६ मा नौ आना जग्गा छ । काठमाडौंको जग्गा ०६५ मा थापाले किनेका हुन् । सगोलमा हेटौँडामा पाँच बिघा जग्गा छ । उपप्रधानमन्त्री थापासँग एक सय १० तोला सुनका गहना र तीन सय तोला चाँदीका सामान छन् । थापासँग आठ लाख रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । थापाको नाममा इन्भेस्टमेन्ट बैंकमा चार लाख ७५ हजार, कुमारी बैंकमा एक लाख ८० हजार, एनएमबी बैंकमा एक लाख, एभरेस्ट बैंकमा ८० हजार रुपैयाँ मौज्दात छ । थापासँग १८ लाखमा किनेको ल्यान्डक्लुजर र २७ लाखमा किनेको फियट कार छ । उनको छोरा सुभाषको फार्ड कार र सफारी स्ट्रोम छ । थापासँग ल्यापटप, मोबाइललगायतका करिब दुई लाख रुपैयाँबराबरका उपकरण छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीमबहादुर रावलले आफ्नो सम्पत्ति विवरणमा श्रीमती संजिता रावलको नाममा टोखामा घर रहेको जनाएका छन् । चार सय २० वर्ग्मिटर क्षेत्रफलमा फैलिएको घरको मूल्यांकन उनले १ करोड ८५ लाख रुपैयाँ उल्लेख गरेका छन् । रावलले घट्टेकुलामा रहेको घरजग्गा बिक्रीबाट टोखामा घर खरिद गरेको बताएका छन् ।
उपप्रधानमन्त्री एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीको छोरा विष्णु केसीको नाममा रूपन्देहीको तिलोत्तमामा तीन कट्ठा जग्गा छ । बाग्लुङको जग्गा बेचेर त्यहाँ जग्गा किनेको केसीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । केसीपत्नी पार्वतीको नाममा बाग्लुङको मल्ममा ६ रोपनी एक आना जग्गा छ । बुहारी मिरा केसीको नाममा ललितपुरको गोदावरीमा ४० लाख रुपैयाँमा किनेको करिब ६ आना जग्गा छ । छोराले जापानमा गरेको नोकरीबाट कमाएको रकमबाट जग्गा खरिद गरिएको केसीको सम्पत्ति विवरण उल्लेख छ । केसीसँग डेढ तोलाको सुनको सिक्री, एक तोलाको टप, चार आनाको औँठी छ । केसीसँग सात लाख ७७ हजार रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । एभरेस्ट बैंकमा एक लाख ८७ हजार र प्रभु बैंकमा चार लाख ९० हजार रुपैयाँ मौज्दात छ ।

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीको अर्घाखाँची र बुटवलमा जग्गा छ । विनबहादुर, रामबहादुर र योगमाया रायमाझीको नाममा क्रमशस् सन्धिखर्कमा ६७ रोपनी, एक रोपनी १४ आना र बुटबलमा आधा कट्ठा जग्गा छ । यसैगरी, रामबहादुरकै नाममा बुटवलमा आधा कट्ठा जग्गा छ । सबै जग्गा पुख्र्यौली सम्पत्तिबाट प्राप्त भएको उपप्रधानमन्त्री रायमाझीले उल्लेख गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको छोरा नवीन पौडेलको नाममा ललितपुर कार्य्विनायक नगरपालिका–२ मा नौ आना एक पैसा दुई दाम जग्गामा निर्माण भएको घर छ । मन्त्री पौडेलकै छोरा नवीनको नाममा काठमाडौं महानगरपालिका–४ मा आठ आना जग्गा छ । मन्त्री पौडेलसँग १६ तोला सुन छ । पौडेलको एभरेस्ट बैंकमा २१ हजार रुपैयाँ नगद मौज्दात छ । छोरा नवीनको राष्ट्रिय वाणिज्य बैंकमा पाँच हजार सात सय, यती डेभलपमेन्ट बैंकमा एक हजार, ग्लोबल आइएमई बैंकमा ३३ हजार, कमनवेल्थ बैंक अफ अस्ट्ेरलियामा ६ सय १४ अस्ट्ेरलियन डलर छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतका बुबा डण्डवीर बस्नेतको नाममा जाजरकोटको खलंगामा ढुंगामाटोले बनेको घर छ । यसैगरी, दाजुहरू वीरबहादुर र ललितबहादुर बस्नेतको खलंगामा क्रमशस् चार रोपनी पाखो बारी र दुई रोपनी खेत छ । जग्गाको अंशबन्डा भइनसकेको मन्त्री बस्नेतले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री बस्नेतका बुबाआमासँग पाँच तोला र आफूसँग एक तोला सुन तथा सय केजी चाँदी छ । यस्तै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा आफ्नो नाममा २० हजार रुपैयाँ, श्रीमती सत्या पहाडीको नाममा सोही सहकारीमा २० हजार, छोरा संगम बस्नेतको नाममा एभरेस्ट बैंकमा तीन लाख र श्रीमतीको नाममा एक लाख रुपैयाँ नगद मौज्दात छ ।
युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो सम्पत्ति विवरणमा सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बाबुको नाममा नौ कट्ठा जग्गामा चारकोठे इँटाको गारो भएको र माथि जस्ताको छाना भएको घर रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलको सोही स्थानमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आफ्नै नाममा छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..