» » साउदीमा बन्दी जिवन बिताइरहेका नेपालीका बारे राजदूतावासले चासो लिएन

साउदीमा बन्धक बनाइएका नेपाली


काठमाडौ पुस ८ गते । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् ।

आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले आपूmहरुको उद्धारमा कहीँकतैबाट पहल नभएको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् ।

ती पीडित नेपालीले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रु्प कम्पनी (एमएमजी) मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो ।
रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुन् ।

उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरिएपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गर्नुभयो ।
दूतावासमा सम्र्पक गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्, तर हप्ता दिन भन्दाभन्दै महिनौँ बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन–पीडित पौडेलले  भन्नुभयो ।

दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भएपनि टिकटको व्यवस्था बरु हामी आफँै गर्छौँ । पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीन जना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ ।

बन्धक बनाएर राखिएका पीडित नेपालीले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् । आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने यहाँको नियम छ ।

काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले दुःखेसो गर्नुभयो । तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौँ, तामाङले भन्नुभयो, “जसरी भएपनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुप¥यो ।

यता कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहेको भएपनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताउनुभयो ।

बन्धक बनाइएका नेपाली कामदारको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौँ, कार्यवाहक राजदूत शर्माले रासससँग भन्नुभयो, नेपाली कामदारको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौँ । तर अब धेरै ढिलाई भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गरिने शर्माले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..