» » जेलमा राजन मुक्तिलाई ज्यानको खतरा

महोत्तरी, पुस ५ गते । महोत्तरीमा जेल जीवन बिताइ रहनु भएका रंजित झा (राजन मुक्ति) लाई ज्यानको खतरा रहेको आरोप जनतान्त्रिक तराई मुक्ति मोर्चाले लगाएको छ ।

राजनमुक्ति जनतान्त्रिक तराई मुक्ति मोर्चाका वरिष्ठ नेता एवं पूर्व अध्यक्ष हुनुहुन्छ । मोर्चाका केन्द्रीय सदस्य तथा महोत्तरी, धनुषा प्रभारी दिपककुमार झा भास्कर मुक्तिले आज विज्ञप्ति जारी गरी राजन मुक्तिलाई कारागारमै मार्ने षड्यन्त्र भइरहेकाले उहाँको जीवनरक्षाको लागि पहल गरिदिन सबैमा अपिल गर्नुभएको छ ।

अपिलपछि महोत्तरी जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु मिलेर बनेको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले यो घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कारागारको निरिक्षण गरेको छ ।
तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), इन्सेक, मानवअधिकार संरक्षण केन्द्र, नेपाल पत्रकार महासंघ, नागरिक समाज सञ्जाल, नेपाल वार एशोसिएशनलगायतका संघसंस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा कारागारको निरिक्षण गर्नुका साथै जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता राजन मुक्तिसँग भेटधाट गर्नुभएको छ ।

भेटधाटको क्रममा राजनमुक्तिको अनुहारमा चोट लागेको, बायाँ आँखा रातो बनेको र उनको कुराकानीबाट कारागारमा कुटपिट गरेको हुन सक्ने निष्कर्ष निकालेको अनुगमन निरिक्षणमा संलग्न नागरिक समाज सञ्जालका प्रतिनिधि राकेश चौधरीले जानकारी दिनुभयो ।

उहाँले राजनमुक्तिले आफूलाई कसैले नकुटेको बताएपनि उहाँलाई कहिबाट चर्को दवाव रहेको स्पष्ट देखिएको बताउनुहुदै कारागारको अवस्थाप्रति सम्बिन्धित निकायको ध्यानाकर्षण गराई सकिएको बताउनुभयो ।
निरिक्षणमा थर्ड एलायन्सका नागेन्द्रकुमार कर्ण, इन्सेकका अजयकुमार साह, नागरिक समाज सञ्जालका राकेश चौधरी, पत्रकार महासंघका विक्रम रौनियार, दिपिका साह, अधिवक्ता विकरु यादव, मानवअधिकार रक्षक सञ्जालका रञ्जन भण्डारीलगायतकाहरु जानुभएको थियो ।

मानवअधिकार रक्षक सञ्जाल महोत्तरीले कारागार अनुगमन पश्चात जारी गरेको विज्ञप्तिमा बन्द, हडतालको कारणले कैदीवन्दीहरु समेत प्रभावित बनेको उल्लेख गर्दै कैदीवन्दीको रासनपानी तथा दाउरा ल्याउन नरोक्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

भास्करले विज्ञप्ति जारी गरी पटक पटक कारागारभित्र राजन मुक्तिलाई मार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै
पछिल्लो घटना यही मङ्सिर २५ गते शुक्रबार भएको उल्लेख गरिएको छ । हाल उहाँको अवस्था चिन्ताजनक रहेपनि उपचारप्रति कारागार प्रशासन उदासिन रहेको आरोप समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वार्ता टोलीका सदस्य समेत रहनुभएका भाष्करमुक्तिले आफ्ना पूर्व अध्यक्ष राजन मुक्तिलाई कारागारभित्रै कुटपिटमा कारागार प्रशासनको समेत मिलेमतो रहेको भन्नुहुदै यसको पुष्टि पुस २ गतेसम्म पनि उपचारको लागि नलगिनु रहेको आरोप लगाउनु भएको छ ।

मोर्चाले यी घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको उल्लेख गरिनुका साथै राजन मुक्तिको जीवन रक्षाको लागि पहल गरिदिन मानवअधिकारकर्मी, पत्रकारहरुलाई समेत आग्रह गर्नुभएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..