» » सुनसरी पुगेर प्रधानमी अ‍ोलीले यसरी सरापे मधेश आन्दोलनलाई


सुनसरी, पुस ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विखण्डित गर्ने, आगो लगाउने र मुलुकलाई जातीय र क्षेत्रीय विभाजनमा पारेर अर्काको आडभरोसामा आन्दोलन गर्नेले कानुनी कठघरामा एक दिन उभिनैपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एमाले सुनसरीको दोस्रो जिल्लापरिषद् बैठकको उद्घाटन गर्दै तोडफोड गर्ने, एम्बुलेन्सबाट घाइते बिरामी ओरालेर मार्ने तथा चल्दै गरेको सवारी साधनमा आगो लगाउने जस्ता अमानवीय कार्य गर्नेले कहीँ कहिल्यै क्षमा पाउँदैनन् भन्नुभयो ।

“झुक्याएर कर्तव्य पालनामा रहेका प्रहरीलाई मार्ने कार्य गर्न हुने अनि प्रहरीले विध्वंस मच्चाउने कार्य रोक्दा सरकारको दमन हुने भन्ने कुरा कहाँसम्मको राजनीतिक इमान्दारी हो रु” उहाँले प्रश्न गर्नुभयो ।

संविधानसभाबाट संविधान जारी भइसकेर देश आर्थिक क्रान्तितिर अघि बढेको बताउँदै उहाँले नेपाली काँग्रेस र मधेसकेन्द्रित दललाई पनि सरकारमा सहभागी भई सरकारको अभियानमा सामेल हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महिलाले विभिन्न क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाउने व्यवस्था विश्वको अरु कुनै मुलुकको संविधानमा समेत उल्लेख नभएको बताउनुभयो । प्रधानमन्त्रीले वर्तमान संविधान जारी भएपछि मात्र भारतबाट विवाह भई आएका चार हजार ५९६ बुहारीले नेपाली अङ्गीकृत नागरिकता पाइसकेको बताउँदै अङ्गीकृत नागरिकता पाउने व्यवस्था नै नगरेको भनेर भ्रम छर्ने मधेसकेन्द्रित दलका नेतामा संविधान पढ्न सक्ने ज्ञानै नभएको टिप्पणी गर्नुभयो ।

पूर्वी पहाडी जिल्लामा यातायातको सुगमता थपिने
उहाँले हुलाकी राजमार्ग र मेचीकाली राजमार्गको स्तरोन्नति हुने तथा कोसी राजमार्गको वसन्तपुरसम्मको सडकलाई स्तरोन्नति गरेर पूर्वी पहाडी जिल्लामा यातायातको सुगमता थप्ने विषयमा सरकारको ध्यान केन्द्रित रहेको जनाउँदै जोगबनी–किमाथाङ्का दुई लेनको कालोपत्रे सडक दुई वर्षभित्र बनिसक्ने विश्वास दिलाउनुभयो ।

एमालेलाई विभाजित गर्न र एकापसमा फुटाउन हरेक कोणबाट षड्यन्त्र भइरहेको बताउँदै उहाँले एमाले जनताको मझेरीमा हुर्किबढेको पार्टी भएकाले नेताहरू सितिमिति विभाजित नहुने जिकिर गर्नुभयो ।

परिषद् बैठकमा एमाले सुनसरीद्वारा प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा लामो समयदेखि सुनसरीमा रहेर सञ्चार क्षेत्रका धरोहर बन्नुभएका डम्बरबहादुर थापा, कृष्णविनोद लम्साल र याम प्रधान, उद्योगी बलराम आचार्य, सुनिल अग्रवाल, मोती अग्रवाल, भीम पौडेल, जनसेवक भण्डारी, नीलम बस्नेत, विमल पौडेल, मानमोहन श्रेष्ठ, राज्यलक्ष्मी गोल्छा, मोती दुगड, प्रा डा बिपी दास, प्रा डा सञ्जीव शर्मालगायतलाई सम्मान गरिएको थियो । साथै मलैक्षी चौधरी, प्रमोद श्रेष्ठ, कुददीप पेस्कर, लीला श्रेष्ठ सुब्बा, दलबहादुर पौडेल, चम्पाकर राई, सन्तलाल राईलगायतलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

परिषद् बैठक उद्घाटन समारोहमा एमाले कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष महेश रेग्मी, झापा अध्यक्ष चिन्तन पाठक र उदयपुर अध्यक्ष ईश्वरमणि राउतलगायतले सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..