» » संंसदलाई औचित्यहिन भन्दै फोरम नेपालको यस्तो आयो विज्ञप्ति

मधेश/थरुहट क्षेत्र आन्दोलित भएको तीन महिना बढी भइसक्दा पनि सरकारले आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा असन्तुष्ट जनताको मागलाई बेवास्ता गर्दै झन्झन् अमानविय ढंगले प्रस्तुत भएको हुँदा यो कुरालाई बेवास्ता गरी व्यवस्थापिका संसदको अबका बैठकहरु अर्थहीन भएको संघीय समाजवादी फोरम, नेपालको निष्कर्ष छ । वार्ता गरे जस्तो देखाएर जनतामा भ्रम छर्न खोजेको सरकारले गम्भीर एवं सार्थक वार्ता गरी देशलाई निकाश दिन नचाहिरहेको अवस्थामा सिङ्गो मधेश÷थरुहटका जनताको माग र चाहनालाई बेवास्ता गरेर संसदको बैठक निर्वाध चल्न नसक्ने यथार्थ तर्फ फोरम नेपाल सरकारलाई सचेत गराउन चाहन्छ । आन्दोलनका दौरान सहादत प्राप्त गरेकालाई सहीद घोषणा, मृतक परिवारलाई आर्थिक सहयोग, घाइतेको निशुल्क उपचार जस्ता प्रथम चरणको माग समेतलाई सहमति गरेर पनि कार्यान्वयन गर्नबाट पछि हटेको सरकारले अझै पनि आन्दोलनमाथि निर्मम दमन गरिरहेको छ ।
संघीय समाजवादी फोरम, नेपालको व्यवस्थापिका संसदभित्रैबाट रचनात्मक ढंगबाट समाधान खोज्ने अपेक्षा हुँदाहुँदै पनि सरकारले आन्दोलनकारी माथि चरम दमन गरिरहेको सन्दर्भमा अबका संसद बैठकहरु औचित्यहीन रहेको फोरम नेपालको ठहर छ । पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्र अन्तर्गत सरकारले माग सम्बोधनका लागि तत्परता नदेखाएको हाम्रो बुझाई हो ।
अहिलेको आन्दोलन मधेशी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको भएकोले समयमै माग सम्बोधन नगरी यसलाई बेवास्ता गर्नुले सरकारले गम्भीर भूल गरेको हाम्रो ठहर छ । मधेश÷थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई बेवास्ता गरी त्यसको समाधान अन्तै खोज्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुँदे र ८ बुँदे सम्झौता, आदिवासी जनजाति, उत्पीडित खस र थारु समुदायसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै मूल समस्याको समाधान हुने फोरम नेपालको
धारणा प्रष्ट पार्न चाहन्छौ ।
उपेन्द्र यादव
अध्यक्ष

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..