» » हामीलाई जुन शंका थियो त्यो सही साबित भएको छ

–मो.लालबाबु राउत
उपाध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

तपाईहरुले वार्ता भंग भएको घोषण गर्नु भएको छ, त्यसो भए अब के हुन्छ ?
—कात्तिक १५ गते सरकारी वार्ता टोली वार्तामा जसरी प्रस्तुत भयो, त्यसले मुलुकले निकास पाउँछन् भने हामीलाई लागेको थियो । तर त्यसको भोली पल्ट वीरगञ्जमा जुन अवस्था सृजना भयो त्यसले सरकारी वार्ता टोलीले वार्ताको नाममा नाटक मात्र गरेको पुष्टि भएको छ । त्यो दिनको वार्तामा उहाँहरुले भन्नु भएको थियो कि तपाईहरुको माग जायज छ हाम्रो स्तरबाट अब केही हुँदैन सबै थोक फिर्ता हुन्छ तपाईहरुले राखेको सर्त पनि पूरा हुन्छ । हामी एउटा राजनीतिक स्तरको शीर्षस्थ नेताहरुको समिती बनाउने जसमा आन्दोलनरत मधेशी मोर्चाका पनि नेताहरु रहने, र त्यो सहमति भइसकेपछि हामी संविधान संशोधन गर्ने प्रक्रिया तिर जाने भनेर उहाँहरु वार्तामा प्रस्तुत हुनुभयो । त्यसबेला हामीलाई के लागेको थियो कि साँचिकै यी तीनदलका नेताहरु वार्ताप्रति सकारात्मक र गम्भिर रहेका छन् । तर, सात–आठ घण्टा नबित्दै जसरी राज्यको भाषा फेरियो, जसरी नाकामा सुतिरहेको मान्छेमाथी बर्वर दमन भयो । जसरी टेन्टमा आगो लगाइयो, त्यहाँ भएका कम्बल र चप्पलहरु नेपाल प्रहरीले बोकेर लग्यो । त्यसबाट प्रष्ट हुन्छ कि यो राज्य वार्ता प्रति गम्भिर छैन । निषेधित क्षेत्र घोषणा गर्ने, सेनाको परिचालन गर्ने, प्रहरीलाई बढी सक्रिय बनाउने कुरा हामी दुई चार दिनदेखि आभाष पाइरहेका थियौ । हामी यी कुरा वार्ता समितिसँग सोध्दा उहाँले भन्नु भयो कि यो होइन यो त उहाँहरुको नियमित प्रक्रिया हो । । हामीलाई जुन शंका थियो, त्यो शंका सहि साबित भयो । खास गरेर संघिय आयोग बनाएर यी समस्याहरु समाधान गर्ने कुरा गर्नु भयो । हामीले भन्यौ आयोग बनाएर समस्या समाधान हुदैँन । त्यो कुरा उहाँहरुले पनि स्वीकार गर्नुभयो ।

हिजो त तपाईहरु नै सकारात्मक वार्ता भएको छ भन्नु भयो त ?
—हैन, वार्तामा उहाँ जसरी प्रस्तुत हुनुभयो । त्यो हिसाबले सकारात्मक नै भन्नु प¥यो । तपाईहरुको माग जायज छ, राजनीतिक स्तरबाट समाधान गर्नुपर्छ । हामी चाँही काँग्रेसहरुसित बसेर एउटा निकास खोज्छौँ । छिटोभन्दा छिटो निकास दिन्छौँ भनेपछि हामीले त राज्य यस्तो धोकेवाज हुन्छ, बेइमान हुन्छ, ठगेरा हुन्छ, झुठो कुरा गर्छन भने कुराहरु सोचेकै थिएन ।

आन्दोलनले सरकारलाई दवाब पर्छ तर यसले गर्दा मधेशमा पनि समस्या उत्पन्न भएको छ नि ?
—देश हाम्रो हो राज्य हाम्रो होइन भनि निष्कर्षमा मधेशी जनता पुगि सकेको छ । राज्य हाम्रो भएको भए पक्कै पनि हाम्रे मागको सुनुवाई हुन्थ्यो । हामी २०४६ सालको आन्दोलन पनि हेरेका छौ । यो ०६२÷०६३ को जनआन्दोलन पनि हेरेका छौ । ०६३÷०६४ को मधेश आन्दोलन पनि हेरेका छौँ । तर अहिले आएर राज्यको जुन प्रकारले प्रस्तुत भएका छन् त्यसले मधेशी जनताको चित्त दुखेको छ र त्यही भएर जस्तो सुकै दुख पीडा सहेर अधिकार लिने पक्षमा पुगेका छन् । ८० दिसम्मको लामो आन्दोलन हुँदा पनि राज्यबाट जुन गम्भीरता देखाउनु प¥थ्यो राज्यले त्यो देखाएको छैन । हामीलाई पनि थाह छ कि यो झण्डै तीन महिनाको आमहड्तालले मधेशी जनतालाई समस्या भएको होला तर अन्तिम पटकको लडाई भन्दै ती सबै विर्सेर आन्दोलनमा लागेका छन् ।

झण्डै तीन महिना समयदेखि आन्दोलन भइरहेको मधेशी जनतालाई कति गाह्रो भएको छ ?
—गाह्रो त भएकै छ । यतिका लामो आन्दोलन भएपछि सबै व्यापार, व्यवसाय, स्कूल कलेज, अस्पतालहरु बन्द भएको छ । मधेशी जनताहरुले भोगेको अप्ठयाराहरुको त कल्पना गर्दा एकदमै मन रुन्छ तर यसलाई मधेशी जनताले जागरुक्ताका साथ आन्दोलन गरिरहेको छ । आधा पेट खाएर भएपनि मधेशी जनताहरु आन्दोलनमा निरन्तर जारी राखेको छ । वास्तवमा उनीहरु वर्षौदेखि दास्त्वको जंजीरबाट स्वतन्त्र हुनको लागि यसलाई अवसर मानी आन्दोलनमा सम्पूर्ण मधेशी लगायत थारु, जनजाती सबै होमिएका छन् ।

आन्दोलनको क्रममा निकै अप्ठ्रामा परेकालाई राहतको व्यवस्था गर्नु भएको छ कि छैन ?
—हामीले राहत कहाँबाट दिने ? हामीले प्रष्ट भनेका छौ कि सदियाँैदेखि दास्त्वको जंजीरमा जकरिएको जीवनलाई स्वतन्त्र हुन दिनका लागि केही दिन यस्ता दुःख र अप्ठयाराहरुको सामना गर्नुपर्छ र जनताहरु आफ्ना अप्ठयारालाई गाह्रो नमानी पूर्ण रुपमा आन्दोलनमा निरन्तर सक्रिय रुपले सहयोग गर्दै आएका छन् । यो अधिकारको  लडाई हो यो कुनै पार्टी वा कुनै व्यक्ति विषेशको लागि होइन भने कुरा पनि मधेशी जनताले यसपाली प्रष्टसँग बुझेका छन् ।

मधेशी जनता यो लडाइ लड्न तयार छ तर यो आन्दोलनले माग पुरा हुन सकेन भने के हुन्छ ?
—हेर्नुस्, मधेशी जनताहरु आफ्ना अधिकारका लागि लडि रहेका छन् । यदि लड्दै लड्दै त्यसलाई यो देशले समाप्त ग¥यो भने त्यसलाई पनि स्वीकार गर्नुपर्छ । अधिकार प्राप्त नभएसम्म बाचुञ्जेल लडाइ लड्नु पर्छ । तर यो निश्चित अधिकारका लागि लड्नेको जीत अवश्य हुन्छ । ठूल्ठुला तानाशाहहरु, हजारैँ हैन लाखौँको सँख्यामा हत्या गरेर सत्त्तामा पुग्नेहरुको सत्ता ढलेको इतिहास हामी सामु छ । आन्दोलनकारीको अगाडि कसैको केही चलेको छैन । विजय अवश्य हुन्छ ।

देश गृहयुद्धमा गएकै हो त ?
—जान्छ, राज्यले आफ्नै मधेशी समुदायलाई बर्वरतापूर्ण तरिकाले गोली ठोक्दै हिडेको छ र यसलाई तत्कालै नरोके देश गृहयुद्धमा जान्छ । अहिले त्यस्तो अवस्था आएको छैन । अहिले पनि राज्यलाई सोच्ने र बुझ्ने मौका छ ।
जारी भएको संविधानमा मधेशको मुद्दाहरुलाई सम्बोधन र समावेश गरेको छ कि छैनन ?
—मधेशको मुद्दालाई यो संविधानमा उपेक्षा गरेको छ । जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणका कुरा गरिरहेका थिए । समानुपातिक प्रतिनिधित्वको कुरा गरिरहेका थिए । यो देशको न्यायपालिका संघीय संरचनामा हुनुपर्छ र यहाँका निजामति न्याय सेवा, प्रहरी, नेपाली सेना सबै तह तप्कामा समानुपातिक समावेशिता हुनु पर्दछ भन्ने मधेशीको माग हो । तर यी सबैलाई पहाडे शासकहरुले खतम पारि दिएको छ । जसका लागि अहिलेको आन्दोलन भइरहेको छ ।

तपाईहरुले संविधानमा मधेशको कुनै पनि अधिकार समावेश छैन भनि कुरा जनतालाई भन्नु भएको छ त्यही नै हो त ?
—हो हामीले जनतालाई भनेका छौ कि यो सविधानले मधेशीको अधिकार खोसेको छ । यो देशमा समान रुपमा सहभागिताका लागि अधिकार दिएको छैन । समानुपातिक समावेशी कति छ, यदि त्यो छैन भने मधेशी जनता ठूलो अधिकारबाट बञ्चित हुनेछ । अन्तिरम संविधामा स्वीकार्य गरेको जनसंख्याको अधार निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने अहिले कि भुगोललाई महत्व दिएको छ । देशमा अहिले संविधानको कुरा गर्ने हो भने सार्वभौमसत्ता र राजकीय सता जनतामा निहित रहेको छ । र जनतको प्रतिनिधी हुन्छ कि भुगोलको प्रतिनिधी हुन्छ । हो केही खास प्रदेशहरु छन् । केही खास समुदायहरु छन् । उनीहरुका लागि विशेष व्यवस्था गर्नुपर्छ भनेका छौ ।

लामो समयसम्म यसरी नै आन्दोलन जारी रह्यो भने मधेश टुक्रिन पनि सक्छ, भनि अवाज आइरहेको छ नि ?
—टुक्रिन सक्छ वा सक्दैन भन्ने कुरा समयले बताउँनेछ । हामीले कुनै पनि हालतमा यो देशबाट मधेश टुक्रिनु हुदैँन, बरु हामी यसै देशमा रही हामी आफ्ना अधिकार स्वशासन र पहिचान खोजेका छौँ । उत्पिडनमा परेका समुदायहरुलाई यही देशमा अधिकार दिनुपर्छ भनि हामी चाहेका छौ तर राज्यले जवर्जस्ती मधेशलाई अलग गर्न चाहन्छ । जबर्जस्ती धकेल्न खोज्छ भने यसमा कसैको केही लाग्दैन तर हामी स्पष्ट पार्न चाहन्छौ कि मधेश टुक्राउने पक्षमा हामी कदापी छैनौ ।

मधेशमा चीनको विरोध भएको छ, झण्डा जलाइरहेको छ, यसको अर्थ तपाईहरुलाई भारतको सर्मथन छ ?
—चीन वा कुनै देशको झण्डा जलाएको छ भने त्यो गलत हो । भारत र चीन दुबै हाम्रा मित्र हुन् । दुवैलाई सम्मान गर्नु पर्छ । कुनै पनि देशको झण्डा जलाउनु त्यो समान्य गल्ती होइन त्यो अपराध हो  । र यसलाई हामी सर्मथन गर्दैनौ । झण्डा जलाउने वा विरोध गर्ने मधेशी मोर्चाको निर्णय पनि होइन । यदि त्यसबाट कुनै परिस्थिति उत्पन्न हुन्छ भने मोर्चाले जिम्मेवारी लिदैन । जलाउने व्यक्तिले जिम्मेवारी लिनुपर्छ ।
मधेशको निकाश के हुन सक्छ ?
—मधेशको निकाश भनेको संघर्ष गर्नुपर्छ । मधशी जनता लडेर हार्यो भने दास बन्छ । लडेर जित्यो भने मालिक बन्छ । यही हो निकास । अर्थात राज्यको रवैयाका कारण संघर्षबाहेक अरु कुनै विकल्प छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..