» » कर्णले भने, गृहमन्त्री र प्रधानमन्त्रीले वार्ता भंग गर्नुभएको छ

काठमाडौ, कार्तिक १६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका वार्ता समितिका सदस्य एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँगको वार्ता सकारात्मक अवस्थामा पुगेको बेलामा वीरगञ्जमा भएको घटनाले सरकार आफै वार्ता सार्थक परिणाममा पुग्न नदिने रणनीतिमा रहेको आरोप लगाउँदै यस्तै भए आफूहरुले वार्ता भंग गर्ने चेतावनी दिएका छन् ।

उनले भने–आईतवार राम्रो अवस्थामा वार्ता गरेर निस्कियौ । चार पाँच दिन छलफल गरेर बस्ने भनेकोले सकारात्मक भनेका थियौ । सरकारले सेना परिचालन, कफ्र्यूको अवस्था आउन दिन्न भनेको थियो । तर आज विहानै वीरगञ्जमा अन्धाधुन्ध दमन गरेको छ । टेन्ट जलाएको छ, कम्बल लगेको छ । यसले राज्य आफै वार्ता सफल हुन नदिने रणनीतिमा लागेको पुष्टि भएको छ । प्रधानमन्त्री र गृहमन्त्री न वार्ता भाड्न लागेका छन् । वीरगञ्ज घटनामा उनीहरु नै दोषी छन् ।

कर्णले थपे, मधेसमा जातीय हिंसा भईरहेको छ । यस्तै हो भने मुलुकमा जातीय यूद्ध सुरु भयो । मुलुक गृहयूद्धमा गयो । यसले मधेसी न पहाडी कसैलाई फाईदा गर्दैनन् ।

वार्ता निष्कर्समा पुग्न नदिने सरकार भएकोले अहिलेको अवस्थाको दोषी सरकार भएको दावी गर्दै राज्यले घट्नाको विषयमा तुरुन्त माफी नमागे वार्ता भंग हुने चेतावनी उनले दिए ।

मुस्लिम गठबन्धनका अध्यक्ष एवम वार्ता टोलीका सदस्य समिम अन्सारीले वार्ता र दमन सँगसँगै चल्न नसक्ने भन्दै सरकारलाई कि निर्णायक रुपमा वार्ता कि दमनको बाटो रोज्न चुनौति दिए ।


उनले वार्तामा निषेधित क्षेत्र नथप्ने सहमति भए पनि वीरगञ्जमा पुन निषेधित क्षेत्र घोषणा गरे सहमति तोडेको आरोप लगाउँदै राज्यलाई गंभिर हुन आग्रह गरे ।

अन्सारीले सरकार र मधेसी मोर्चावीचको वार्तामा विश्वासको वातावरण बन्दै गएको र  आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको बताउँदै यस्तो बेलामा वार्ता विरोधी कुनै पनि काम गर्न नहुने आग्रह गरे ।
उनले मधेसीलाई नेपाली नसोच्दा समस्या आएको भन्दै मुलुकका सबै जातजाति नेपाली हुन् भन्ने धारणाको विकास आवश्यक रहेकोमा जोड दिए ।

के भन्छन् सरकारी वार्ता समितिका सदस्य ?
सरकारी वार्ता टोलीकी सदस्य एवम सामान्य प्रशासन मन्त्री रेखा शर्माले वीरगञ्ज घटनालाई लिएर मधेसी मोर्चाले वार्ता भंग र गृहयूद्धको चेतावनी दिने हो भने सरकार नभई उनीहरुनै बार्ता विरोधी रहेको पुष्टि हुने चेतावनी दिएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले वार्ता सकारात्मक भएको अवस्थामा निकास निकाल्न आन्दालनकारी पनि संयमित हुनु पर्ने भन्दै वीरगञ्जमा भएको घटनालाई नचर्काउन र अतिरञ्जित नगर्न सचेत गराईन् ।

मन्त्री शर्माले सुरक्षाकर्मी र आन्दोलनकारीवीचको भिडन्तलाई साम्प्रदायिकतातर्फ मोडेर कसैलाई फाईदा नहुने तर्फ सचेत गराउँदै वार्ता सकारात्मक भएको अवस्थामा मोर्चाले पनि आन्दोलनको स्वरुपको विषयमा सोच्नु पर्ने बताईन् ।

उनले भनिन, मधेसको समस्या सकारात्कम रुपमा टुङग्याउँछौ भनेर सन्देश दिन सके अहिले देखिएको तनाव कम हुन्छ । नाकाबाट मान्छे हटाएर आन्दोलनको स्वरुप परिवर्तन गरे वार्ता सफल हुन्छ र मुलुकले पनि निकास पाउँछ । नाकाबन्दी हटाउनुस् र शान्तिपूर्ण रुपमा समस्याको सामाधान खोज्नुस् ।

मन्त्री शर्माले राजनीति सहमति गरेर संबैधानिक प्रक्रियाबाट समस्याको समाधान गर्ने सहमति भएको जानकारी दिदै सहमतिको लागि सरकारले पनि सात प्रदेश भन्दा कम बढी हुँदैन र मधेसी मोर्चाले पनि मधेसमा दुई प्रदेश भन्दा तलमाथि हुँदैन भनेर भन्न नहुने तर्क गरिन् ।

उनले भनिन, दुबै पक्ष लचक हुनु पर्छ । अहिले पोजिसनको बीचबाट सहमति गर्ने हो । सीमांकनको विषय संवेदनशिल छ । अहिले गरेको निर्णयले भोली ठूलो संकट आउन पनि सक्छ । त्यसैले थप होमवर्क र छलफल गरेर निर्णय गर्नु पर्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..