» » फोरम नेपालका नेता महतोले भने, सत्ताधारी दल नै मधेश टुक्र्याउने खेलमा लागेको छ


काठमाडौं, १६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रीय सदस्य डा. विरेन्द्र प्रसाद महतोले सत्ताधारी दलको मिलेमतोमा मधेश टुक्र्याउने खेल सुरु भएको आरोप लगाएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सांसद महतोले वार्ता तथा सहमतिको राजनीति  छाडेर सत्ताको फोहोरी खेलमा लागेको, मधेशी जनताका जायज मागप्रति उदासिन भएको र दिनप्रतिदिन मेधशी जनताको छातिमा गोली बर्साउने काम भएकाले सत्ताधारी दलहरुले मधेश टुक्र्याउन  खोजेको टिप्पणी गरेका हुन् ।

उनले भने, “सत्ताधारी राजनीतिक दलका शीर्ष नेताहरुले देशलाई समृद्धि बनाउन छाडेर राष्ट्रियताको चर्को कुरा गर्दै अधिकारको आन्दोलन गर्ने नेपाली जनतामाथि क्रुरता प्रदर्शन गर्दै टाउकोमा गोली बर्साउने काम गरेको कुरा हामीले देखेका छौं ।”

महतोले मधेशमा जायज माँग राखेर अधिकारका आन्दोलनमा होमिएका मधेशी जनतामाथि गोली बर्साउन निर्देशन दिने सरकारले नै मुलुकमा जातीय द्धन्द्धको विजारोपण गरेको समेत आरोप लगाए ।

दौरासुरुवाल लगाउँदैमा राष्ट्रवाद देख्ने प्रमुख राजनीतिक दलका अन्धा शीर्ष नेताहरुले आफ्नो पहिचान बोक्ने तराई मधेशका जनतालाई अर्कै दर्जाको नागरिकको रुपमा हेर्ने गरेको समेत गुनासो पोखे । दौरासुरुवाल लगाउनेहरुले नै आज भ्रष्टाचार गरेको उल्लेख गर्दै आफूहरुलाई त्यस्तो भ्रष्टाचाररुपी नौटँकी राष्ट्रवादको दौरासुरुवाल लगाउने कुनै चाहना नभएको समेत प्रष्ट पारे ।
महतोले हिजोको दिनमा जनताको अधिकारको चर्को कुरा गर्ने राजनीतिक दलहरु नै आज सत्तामा हुँदापनि उदासिन देखिएको उल्लेख गर्दै उनले मानवअधिकारवादी संघसंस्था, नागरिक समाज एवम् बुद्धिजिवीहरुले पनि यतिवेला सकारात्मक भूमिका निर्वाह गर्न नसकेको गुनासो पोखे ।

मानवअधिकारकर्मीहरुले काठमाडौंमा बसेर तराईको आन्दोलनवारे टिप्पणी गरेको भन्दै महतोले राजनीतिक दलको झण्डामा बसेर मानव अधिकारको वकालत गर्नेहरुलाई फिल्डमा गएर मात्रै बोल्न चुनौती दिए ।
परिवर्तनकारी आन्दोलन र मोर्चाको अग्रपंक्तिमा होमिने मधेशी जनता आज ७८ दिनसम्म अधिकारको लडाईमा होमिँदा पहाडी जनताहरुलाई कुनै चासो नभएको देख्दा आफूलाई दुःख लागेको उनको तर्क छ ।

गत बैशाख १२ को महाविनाशकारी भुकम्पमा काठमाडौंको जनतालाई दुख्दा तराईका जनता चुप लागेर बस्न नसकेको बरु माना मुठि जम्मा गरेर सहयोग गरेको स्मरण गर्दै  आज दिनादिनु मधेशी जनता तराईमा मरिरहेको देख्दा काठमाडौंवासी मुकदर्शक बनेको देख्दा आफुलाई आश्चर्य लागेको सभासद महतोको टिप्पणी छ ।

मधेशी जनताको भोट लिएर सत्ताको केन्द्रविन्दुमा लहसिने विभिन्न राजनीतिक दलका नेताहरुले मधेश आन्दोलनबारे कुनै चासो नदेखाएको बरु काठमाडौंमा बसेर रमिता हेरिरहेको उनको आरोप छ ।

उनले भने, “हिजो मधेशी जनताको भोट पाएर निर्वाचन जित्नेहरु आज सिंहदरबार वरिपरि घुमिरहेका छन्, उनीहरुलाई मधेशले दुख्दैन बरु उनीहरु काठमाडौंमा सत्ताको फोहोरी खेलमा लागेका छन् ।” महतोले त्यस्ता नेताहरुलाई मधेशी जनताले बहिष्कार गर्नुपर्ने माँग गरे ।

सांसद महतोले तराई मधेशका निर्दोष जनताको छातिमा गोली बर्साउने सरकारलाई आफूहरुलाई गोली हानेर देखाउन चेतावनी दिएका छन् । उनले भने, “सरकारले जे गर्नुपर्ने हो हामीजस्ता नेताहरुलाई गरोस, निर्दोष जनतालाई गोली बर्साउने काम तत्काल बन्द गरोस् ।” आज मधेशी जनतामाथि गोली बर्साउने सरकारले भोलि ठूलो मुल्य चुकाउनुपर्ने समेत उनको चेतावनी छ ।

महतोले वर्तमान राजनीति गत्यावरोध तत्काल हल गर्न प्रमुख राजनीतिक दल तथा आन्दोलनकारी दलहरुवीच अविलम्ब वार्ताको आवश्यकत्ता रहेको उल्लेख गर्दै त्यसै दिशातर्फ अग्रसर हुन समेत आग्रह गरेका छन् ।

सांसद महतोले एमाले र एमाओवादी लगायतका राजनीतिक दलहरुको अपवित्र गठबन्धनको सरकारले पवित्र मनले वार्तामा बसेपछि मात्रै समस्याको हल हुने विश्वास व्यक्त गरे ।

उनले वार्ता वार्ताको लागि मात्रै नभएर निकास निकाल्नको लागि परिणाममुखी बनाउनुपर्ने आजको आवश्यकत्ता भएको भन्दै सबै सरोकार पक्षहरुले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्र्दै त्यसले मात्रै देश र जनताको हित हुने सुझाव दिएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..