» » हुलाकी सडक बनेपछि स्थानीय खुशी

धनगढी, असोज १४ गते । घर नजिकै भएर हुलाकी सडक बनेपछि लाभको अनुभूति हुन थालेको छ सुरेश चौधरीलाई । ग्रामीण क्षेत्रमा सडक विस्तारसंगै विकासले पनि गति लिने आशावादी देखिनु भएका चौधरीले थप्नुभयो–‘हुलाकी सडक बनेपछि धेरै सजिलो भयो । लाग्छ बाटो हैन, विकास आयो ।’ं
कैलालीको धनगढीदेखि पूर्वतिर हुलाकी सडक विस्तार भएको छ । अहिलेसम्म करिब ७० प्रतिशत सडक निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । सडकमा ‘सर्फेस ड्रेसिङ्ग’ कालेपत्रे भएपछि धुलाम्ये, हिलाम्ये बाटो यात्रा अनुभव बटुलेका स्थानीयहरु सुविधा भएको बताउँछन् ।
‘अब धेरै सजिलो भएको छ’, फूलवारीका प्रेम काफ्लेले भन्नुभयो–‘सडक आएपछि धेरै सुविधा भयो । सम्भवतः ग्रामीण क्षेत्रको विकास पनि चाँडै हुन्छ ।’
विकासको पहिलो आधार सडक भएकाले कालोपत्रे सहितको हुलाकी सडक बनेपछि विकासको अपेक्षा हुनु स्वभाविक रहेको उहाँले बताउनुभयो । ‘सडक बनेपछि विकास हुँदैन भनेर मान्न सकिन्न’, काफ्लेले अगाडि थप्नुभयो–‘क्रमिक रुपमा विकास हुँदै जाने अपेक्षा गरेका छौं ।’
हुलाकी सडक विस्तारसंगै ग्रामीण क्षेत्रको उत्पादनलाई सजिलै सदरमुकाम धनगढीसम्म पु¥याउन पाउने स्थानीय विश्वास छ । उनीहरुले ठूला गाडी लगायत अटो रिक्सा गाउँसम्मै चल्न थालेका सुनाउँछन् । आवत जावतमा उत्तिकै सरल भएको छ । स्थानीय उत्पादनले बजार पाउन थालेको बताउँछन् ।
साइकलमा घाँसको भाडी बोक्दै गर्नु भएका फूलवारीकै पार्पा लामाले भन्नुभयो–‘गाउँघरमा फलेको तरकारी बिहानै धनगढीतिर लग्ने गर्दछन् । यो सबै सडक बनेपछि नै सम्भव भएको हो ।’
खेतबाट आएका कारण पसिनाले निथ्रुक्क भिज्नु भएका लामाले सडकसंगै गाउँघरतिर लगानी पनि ओइरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘यो सडक नबनेसम्म आउन जान नै गाह्रो थियो । तर, सडक बनेसंगै ठूला ईटा उद्योग खुलेका छन् । बजार पनि बढ्न थालेको छ । धेरै मान्छेले गाउँघरतिरै रोजगारी पाउन थालेका छन् ।’
हुलाकी सडकले जग्गाजमिनको कारोबारमा बृद्धि भएको स्थानीयहरु सुनाउँछन् । उनीहरुका अनुसार जग्गाको भाउ पनि ह्वात्तै बढेको छ ।
सन २०१० मा सम्झौता भएको हुलाकी सडकको. कैलालीमा निर्माण कार्य अब केही मात्रै बाँकी रहेको छ । सडक डिभिजन कार्यालय कञ्चनपुर अन्तर्गतको हुलाकी सडक निर्माण कार्यालय धनगढीका अनुसार धनगढीदेखि पवेराको बैजपुर कटैनी खोलासम्म सडक निर्माण कार्य लगभग पूरा भएको छ ।
सोही सडक खण्डमा धनगढीको क्याम्पस रोडदेखि हसुलियाको सुर्मिनाला खोलासम्म दोस्रो चरणको ‘सर्फेस ड्रेसिङ’ कालोपत्रे गर्ने कार्य पनि सकिएको छ । सुर्मिनाला पुलदेखि पूर्वतिर कटैनी खोलासम्म (करिब पाँच किलोमिटरमा) भने एक चरणको कालोपत्रे भएको र अर्को चरण बाँकी रहेको जनाइएको छ ।
भजनीदेखि–सत्तीसम्म रहेको सडक खण्डको सबै काम सकिएको जनाइएको छ । तर, कटैनी खोलादेखि पूर्व भजनीसम्म भने बसन्ता वन परेकाले १८ किलोमिटर दूरीमा कुनै काम हुन सकेको छैन । वनले रुख काट्ने अनुमति दिन ढिलाइ गरेपछि १८ किलोमिटरमा अहिलेसम्म कुनै पनि काम हुन नसकेको हुलाकी सडक निर्माण कार्यालयका इञ्जिनीयर महेन्द्रराज पन्तले बताउनुभयो ।
उहाँले २०१३ सम्मका लागि सम्झौता भएको हुलाकी सडक निर्माण कार्य कैलालीमा दुई वर्ष ढिलो भइसकेको र अझै पूरा गर्न एक वर्ष लाग्ने बताउनुभयो । ‘अहिलेसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ’, पन्तले भन्नुभयो–‘पूरा गर्न अझै एक वर्षसम्म लाग्न सक्छ ।’
भारत सरकारको पूर्ण अनुदानमा बनाउन लागिएको हुलाकी सडकलाई जीआर र गावर नामक भारतीय निर्माण कम्पनीले बनाइरहेको छ । कैलालीमा करिब ८९ किलोमिटर लम्बाई रहेको हुलाकी सडक बनाउन एक अर्ब ३५ करोड रुपिया लाग्ने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..