» » बन्द गर्ने नेताविरुद्ध स्थानीयको प्रतिकार


उर्मिला यादव
नवलपरासी, असोज २४ गते । नवलपरासीको जिल्ला सदरमुकाम परासीसहित दक्षिणी भेग बन्द गराउँदै आएका संयुक्त मधेसी मोर्चाका जिल्ला नेताहरुविरुद्ध स्थानीयवासी र व्यवसायीहरुले ठाउँ ठाउँमा विरोध गर्न थालेका छन् ।

बन्दको समयमा सर्वसाधारणलाई दुःख दिने तर आफुहरुले भने मनोमानी गरेको भन्दै उनीहरु प्रतिकारमा उत्रेका हुन् । सो क्रममा ठाउँ ठाउँमा झडपसमेत हुन थालेको छ ।
परासी सदरमुकाम सहित दक्षिणी भेग विगत ६४ दिनदेखि बन्द छ ।

प्रतिकारमा उत्रेका स्थानीयवासी र व्यवसायीहरुले आन्दोलनरत जिल्ला नेताहरुलाई घेराउ गरेर मनपरि नगर्न चेतावनी दिन थालेका छन् । सर्वसाधरणलाई बन्द गर्ने तर आफुहरुले भने सवारीसाधन चलाएर सामान ओसारपसार गरेको भन्दै जिल्ला नेताहरुलाई घेरा हालेर उनीहरु प्रतिकारमा उत्रिन थालेका हुन् । सो क्रममा स्थानीय र आन्दोलरत पक्षबीच झडपसमेत भएको छ ।

सोही विषयलाई लिएर शनिवार स्थानीय व्यवसायी र गाउँलेहरुले पूर्वराज्यमन्त्री एंव फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य रामवचन यादव, फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष सुवास गिरी, फोरम गणतान्त्रीकका जिल्ला अध्यक्ष रविन्द्र यादवलाई घर घेरा हालेर हकुई गाउँमा राखेका थिए । गाउँलेहरुबाटै नेताहरु असुरक्षित भएपछि जिल्ला प्रहरी कार्यालयबाट तीनजना निरीक्षकको कमाण्डमा ६० जना सुरक्षाकर्मी खटाइएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । उनका अनुसार घेरामा परेका नेताहरुलाई सुरक्षा दिएर स्थानीयबाट उन्मुक्ति दिलाएको थियो ।

शनिवार भैरहवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मोटरसाईकलमार्फत् जाँदै गरेका उनीहरुसँग स्थानीय गाउँलेबीच झडप भएको थियो । कार्यक्रममा सहभागी हुन जान लागेका नेताहरुले मोटरसाईलबाट जाँदै गरेका अन्य दुई सर्वसाधरणलाई रोकेर बन्दमा मोटरसाईकल किन चलाएको भन्दै आक्रमणको प्रयास गर्न थालेपछि भनाभन भएको थियो ।

‘आफुहरु मोटरसाईकलमा जाने अरुलाई किन रोक्ने भन्दै गाउँलेहरु नेताहरु विरुद्ध उत्रेका थिए । सो क्रममा स्थानीय व्यवसायी दिपेन्द्र यादवलाई मोर्चाका जिल्ला नेताहरुले हातपात गरे पछि झडप भएको थियो । घाईते यादव परासीका मोटरसाईकल कम्पनिका विक्रेता हुन ।

यसैबीच परासीका स्थानीय युवाहरुले पूर्व रक्षा राज्यमन्त्री रामवचन यादवको धान लोड गरेर आउँदै गरेको टेक्टरलाई अवरोध गर्दै बन्द सबैका हुनु पर्ने भन्दै प्रतिकारमा उत्रेका थिए । आक्रोशित समूहले टेक्टरमाथि आगजनीको प्रयास गर्न थालेपछि प्रहरीको टोलीले जोगाएको थियो । बन्द खुकुलो बनाउने बहानामा आन्दोलकारीहरुले आफु अनुकुलका सवारीसाधन र व्यवसायहरुलाई छुट दिने भन्दै सवै क्षेत्र खुला हुनुपर्ने माग गर्दे प्रतिकारमा उत्रेका हुन् ।

पछिल्लो पटक रामग्राम नगरपालिकाको बैरिहवामा बसेका आन्दोलकारी यूवाहरुले स्थानीयवासीहरुले ल्याउँदै गरेका दैनिक सामाग्री, र पेट्रोलियम पदार्थ फ्याक्न थालेपछि स्थानीयहरु पूर्वराज्यमन्त्री यादव विरुद्ध आक्रोशित बनेका छन् । उनीहरुले मन्त्री यादवको निर्देशनमा स्थानीयका सामान फ्याक्ने र पेट्रोल ओसारपसार गरेको बहानामा मोटरसाईकल माथी तोडफोड र आगजनी गर्ने गरेको आरोप लगाएका छन् ।
उता मोर्चाका कार्यकर्ताहरुले स्थानीयका सामान फ्याक्ने र तोडफोड गर्ने गरेको भन्दै बेलाटारी, पक्लिहवालगायतका गाउँमा पनि प्रतिकार हुन थालेको छ । त्रिवेणी र पक्लिहवाबाट मोटरसाइकल र साइकलमा आउँदै गरेका स्थानीयलाई अवरोध गर्दै सामान फ्याकेको भन्दै दाउन्ने र रुपौलियाका स्थानीयहरु बरुवामा प्रतिकारमा उत्रेको प्रहरीले जनाएको छ ।

यसैबीच लामो समयको बन्दले व्यवसायीहरु मर्कामा परेको भन्दै मध्यनेपाल यातायात व्यवसायी समितिले सुनवल–परासी सडक खण्डमा चार दिन अघिदेखि सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ । साउन २५ गतेदेखि परासी सदरमुकाम सहित दक्षिणभेग ठप्प छ भने राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..