» » राष्ट्रपति यादव र उपराष्ट्रति झाद्धारा बडादशैँको शुभकामना


काठमाडौँ,कात्तिक ५ गते । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ ।
बडादसँैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाउनुभएको छ ।

‘‘जननिर्वा्चित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’’

सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।

संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।

‘‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’’ सन्देशमा भनिएको छ, ‘‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’’

उहाँले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताउनुएको छ ।

त्यस्तै उपराष्ट्रपति परमानन्द झाले नेपालीहरुको महान पर्व वडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..