» » आन्दोलनमाथि दमन र त्यसको निकास


–श्यामसुन्दर यादव
देशको २२ जिल्लामा फैलिएका सिङ्गो तराई मधेश यतिबेला आन्दोलनको राप र तापमा जलिरहेको छ । ४६ दिन भइसक्यो । एक शुरले मधेशी जनता आफ्नो अधिकारका लागि सडकमा सघर्ष गरिरहेका छन् । यतिका दिन बितिसक्दा पनि आन्दोलनकारी नथाकिएको जस्तो आनदोलनमा निरन्तर लागि रहेका छन् । भदौ १ गतेदेखि शुरु भएको अनिश्चित काल मधेश बन्दको क्रममा राज्यका सेना र प्रहरीबाट चलाइएका गोलीबाट हालसम्म करिब चार दर्जन भन्दा बढी मधेशका सपूतहरुले आफ्नो ज्यानको आहुती दिइसकेका छन् ।
दशकौंदेखि शोषण, दमन एवम् विभेदको चरम मार खेप्दै आएका मधेशी तथा थारु भूमीपुत्रहरुले अधिकार माग्दा गोली खाएर सदाका लागि चीर निद्रामा सुत्नुपर्ने अवस्था विद्यमान छ । ‘कि त चुप लाग कि गोली खाउ’ भन्ने शैलीबाट राज्य अगाडि बढिरहेको अवस्था विद्यमान छ । आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरु अहिले पनि जीवन–मरणको दोसाँधमा अस्पतालको शैय्यामा छट्पटाइरहेका छन् ।
नेताको बोली
मधेश ठप्प भएका करिब डेढ महिना नाघिसकेको छ तर पनि राज्यले गम्भीरतापूर्व सम्वेदनशिलता देखाउन सकेको छैन । बरु उल्टै राज्य सत्ताका शासकहरु मधेशीमाथि खिस्सी गरिरहेका छन् । आन्दोलनकारीमाथि विभिन्न आरोप लगाई रहेका छन् । कहिले विखण्डनकारी भनिरहेका छन् भने कहिले सम्प्रादायीकतावादी भनिरहेका छन् । कहिले आतककारी त कहिले के त कहिले के । प्रधानमन्त्री बन्ने दौडमा रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले त आँपको रुखबाट एक दुईटा आँप झर्दैमा केही हुँदैन भन्नुभयो भने सोही पार्टीका पूर्व प्रधानमन्त्री झलनाथ खनालले त मधेश प्रदेशलाई धोती प्रदेशको संज्ञा दिनुभयो । सोही पार्टीबाट गृहमन्त्री भएका गृहमन्त्री वामदेव गौतमले त व्यवस्थापिका संसदमा बोल्दै आन्दोलनकारीलाई आतकंकारीको संज्ञा दिनुभयो । तर मधेशी जनताको भावनालाई बुझ्ने प्रयास गर्नुभएन । मधेशीले के चाहेका छन् के समस्या छन् जान्ने प्रयास कहि कतैबाट भएन ।
सिङ्गो मधेशका वस्तीहरु शोकमग्न बन्न पुगेको छ । संविधानमा आफ्ना पनि हक, अधिकार, पहिचान र स्वायतताका कुरा लेखियोस् भनी संकल्पका साथ सडकमा मधेशी, थारु, दलित लगायतका समुदायहरु ओर्लेका छन् । ज्यानको प्रवाह नगरी आफ्नो अस्तीत्वको लडाई लडि रहेका छन् । एउटा युद्धभूमीमा जस्तै सेना र प्रहरीसँग निसशस्त्र लडि रहेका छन् । राज्यसत्ताको क्रुर दमनका बावज्द पनि मधेशले आफ्नो शालिनता र भद्रतालाई क्रमभङ्ग हुन दिएको छैन । टिकापुर बाहेकका घटनाहरुमा आन्दोलनरत पक्षबाट संयमता नै अपनाइएको पाइएको छ । शान्तिपूर्ण रुपमा जारी रहेको आन्दोलनको आवाजलाई राज्यपक्षले अझैं गम्भीरतापूर्वक लिइएको छैन । मधेशी, थारु, मुस्लिम, दलित–जनजातीका आवाजलाई बेवास्ता गरी बन्दुकको बलमा दबाउने नीति अख्तियार गरेको छ ।
आन्दोलनकारीमाथि दमन
टिकापुरको घटनापछि राज्य झन्झन् आक्रमक बनेको छ । प्रहरीले टिकापुरको बदला लिने उद्देश्यले शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारीलाई चरा चुरुगीं जस्तै भटाभट मारिरहेका छन् । टाउको उड्ने गरी ताकी ताकी गोली हानेका छन् । नेपाल प्रहरीको उग्रता वीरगञ्ज, कपिलवस्तु, जनकपुर र महोत्तरीमा हेर्न सकिन्छ । दुई तीनजना बाहेक सबैको मृत्यू घटनास्थलमै भएको छ । गोली लागेपछि पानी माग्ने अवस्थामा पनि छाडेका थिएन । वीरगञ्जमा एकजना आन्दोलनकारीलाई गोली हानेर त्यसको जीउमा पीसाब फेरेको फोटो पनि सार्वजनिक भइसकेको छ । आन्दोलनकारी समातेर एउटा आतकंकारीलाई इनकाउन्टर गरे जस्तै टाउकोमा गोली हानेर फ्यालेको दृश्यहरु पनि बाहिर आयो ,
यता बन्दका कारण मधेशमा सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, उद्योगधन्दा, यातायात लगायत सम्पूर्ण गतिविधी ठप्प छ । लामो समयसम्म बन्द हड्ताल जारी रहेका कारण आमजनताको जनजिवन कष्टकर बन्न पुगेको छ । बन्दका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई हदैसम्मको पीडा भए पनि राज्यको सम्वदेना विहिनताको अवस्थाले गर्दै भोको पेट लिएर पनि आन्दोलनमा सहभागिता जनाएका छन् ।
नाकाबन्दी र राष्ट्रियता
मधेशी भएकै कारण राज्यले गरेको विभेद तथा नेताहरुको रुखो बोलीले गर्दा आन्दोलन लम्बिए पनि आन्दोलनकारीहरुले यो आन्दोलनलाई वार या पारको लडाइँ भनेर विरोधका कार्यक्रमहरुमा सहभागिता बढाएका छन् । पछिल्लो समय विगत डेढ हप्तादेखि मधेशवादी दलहरुले आन्दोलनलाई भारतीय सिमानाका केन्द्रित गरेपछि आन्दोलनको प्रभाव व्यापक रुपमा देखिन थालेको छ । यसअघि सेना प्रहरी परिचालन गरेर राती मालवाहक ट्रकका साथै यात्रुवाहक बसलाई स्कर्टिङ्ग गरेर पठाए पनि हाल भने सीमा नाकाकै अवरोध सिर्जना भएपछि मालसामान आयात हुन नसकेपछि त्यसको प्रत्यक्ष असर काठमाण्डौमा देखिएको छ । काठमाण्डौलगायतका सहरहरुमा मालसामान आपूर्ती भइरहेका कारण मधेश आन्दोलनलाई बेवास्ता गरिँदै आएको थियो ।
यद्यपी अभावको मारले गर्दा यतिबेला कुरोको चुरो नै नखोजी मित्रराष्ट्र भारतलाई गाली गर्ने तथा झण्डा जलाउने कार्य देशैभरी भइरहेको छ । राष्ट्रियताका नाममा देशभित्रै जारी आन्दोलनको मागलाई सम्बोधन नगरी मित्रराष्ट्र लगायतकालाई गाली गर्नुलाई कदापि जायज भन्न मिल्दैन । मङ्गलवारदेखि हिन्दी च्यानल प्रशारणमा समेत देशैभरि रोक लगाइएको छ । जनताले सुसूचित हुन पाउने हकबाट बञ्चित गर्ने कार्य भत्र्सना योग्य छ नै । मधेशका समाचारलाई प्राथमिकता दिनुको साटो मिडियाहरुले नकारात्मक रुपमा गर्ने गरिएको प्रस्तुती तथा शैलीका कारण त्यस्ता मिडियाहरुप्रति आमजनताको विश्वास घट्दैगएको छ । सत्यतथ्य कुरालाई समेत बङ्गयाउने शैैलीले गर्दा आजित बनेका मधेशी समुदायले भारतीय न्यूज चैनलहरुले दिने समाचार हेरेर चित्त बुझाउने गरेका थिए । यद्यपी यस्तो अवस्थामा मिडियामाथिको ठाडो हस्तक्षेपलाई राम्रो भन्न मिल्दैन ।
कहाँ चुके मधेशी र थारु ?
मधेशी, थारु लगायतका समुदायको भावना लत्याएर तानाशाह प्रवृतिबाट जबरजस्ती लाद्न खोज्ने कस्तो राष्ट्रवाद ? हो सिधासाधा मधेशी तथा थारु समुदाय चुकेका हुन् नेताहरुमाथि विश्वास गरेर । त्यतिबेला नत मधेशी समुदायले आफ्नो मधेशवादी दललाई चिने नत थारु समुदायले आफ्ना मान्छेलाई चिने । केवल आफ्ना अमूल्य मत दिए तिनै काँग्रेस, एमाले र एमाओवादी । प्रायः तिनै दलहरुहरुमाथि विश्वास गरेर मत दिए । ताकि हाम्रा कुराहरु राम्रोसँग उठाइदिनेछन्, हाम्रा अधिकार, पहिचान र स्वायतताका कुराहरु लेखिदिनेछन् ।
मधेशबाट संविधानसभाको निर्वाचनमा मतदान गरेर पहाडी मूलका नेताहरुलाई विजयी गराए । त्यतिबेला मधेशी जनताले उदारता देखाएर पहाडी समुदायका नेताहरुलाई जिताए । जबकी अहिले पनि पहाडका कुनै जिल्लामा मधेशीलाई उम्मेदवार बनाएर जिताउने आँट कुनै पनि ठूला दलले गर्न सकेको छैन ।
राणा विरोधी आन्दोलन होस् वा पञ्चायती शासन विरोधी वा शाही शासन विरुद्धको आन्दोलन । हरेक आन्दोलनमा मधेशले बलिदान दिएको छ ।
मधेशमा जन्मेका मधेशवादी पार्टीलाई भन्दा अत्यधिक माया काँग्रेस, एमाले र एमाओवादीलाई नै गरेको इतिहास साक्षी छ । जहाँसम्म लडाकुपनाको कुरा गर्ने हो भने गणतन्त्रको बिगुल फुक्ने नेता रामराजा प्रसाद सिंह एउटा उदाहरण मात्र हो । माओवादी जनयुद्धमा समेत मधेशले दिएको बलिदानीलाई कदापि भुल्न मिल्दैन । लोकतान्त्रिक आन्दोलनमा समेत मधेशले शहादत दिएको छ । देशमा परिवर्तन आएपछि हामीले पनि हक अधिकार पाउनेछौ । हामीले आम नेपाली नागरिक सरह जीवनयापन गर्न पाउँला । तर मधेशी जनताका ईच्छा र आकांक्षासँग सधैं खेलवाड भएको छ ।
सीमा रक्षक मधेशी
सीमा क्षेत्रमा बस्ने मधेशी समुदायले सीमा रक्षाका लागि ज्यान समेत बलिदान गरेका छन् । बिना तलबका सच्चा सिपाही बनेर सीमाको रक्षा गरेको छ । उसले आफ्नो मुटुभन्दा बढी माया आफ्नो मातृभुमीलाई गरेको छ । तर यतिबेला विभिन्न आरोप–प्रत्यारोपका साथ मधेश र मधेशी जनतामाथि नानाथरिका शंका उपशंका उब्जाउने गरिएको छ ।
निष्कर्ष
जारी मधेश आन्दोलनमा राखिएका मागहरुलाई राज्यपक्षले गम्भीरतापूर्वक लिएर वार्ता तथा सम्वादबाट समाधान खोज्नु आवश्यक छ । मधेशमा जारीआन्दोलनको मागलाई बेवास्ता गरेर अनावश्यक टिप्पणीहरु गरिए यसले भावना जोड्ने काम कदापि गर्दैन, यसले दुरी बढाउने काम मात्र गर्छ । त्यसैले ढिलो नगरी मधेशको समस्या वार्ताको माध्यमबाट समाधान गरेर हाल सिर्जित समस्याहरु समाधान गर्नुबाहेक अरु कुनै उपाय छैन ।
(लेखक यादव राजविराजबाट पत्रकारिता गर्नुहुन्छ)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..