» » सरकार र मोर्चावीचको वार्ता निष्कर्ष विहिन

काठमाडौँ, असोज १९ गते । सरकारले गठन गरेको वार्ता टोली र संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा आज बसेको दुई पक्षका वार्ता टोलीबीचको बैठकमा आ–आफ्ना कुरा राख्नुबाहेक कुनै प्रगति हुन नसकेको मधेसी मोर्चाको तर्फबाट वार्ता टोलीको सदस्य रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकारले आन्दोलनकारीको माग पूरा गर्न यसअघि गरेका प्रतिबद्धताहरु समेत पूरा गर्न नसकेको भन्दै पहिला सो प्रतिबद्धता पूरा गर्न माग गरेका थिए । उनीहरुले पहिलेका सहमतिको कार्यान्वयन नभएसम्म नयाँ सहमति गर्नुको औचित्य नहुने भन्दै मन्त्रिपरिषद्बाटै भएका मधेस आन्दोलनका क्रममा भएका घाइतेको निःशुल्क उपचार, मृतकलाई क्षतिपूर्ति, सेना फिर्ता गर्ने लगायतका निर्णय कार्यान्वयन हुन नसकेको भन्दै पहिला सो को कार्यान्वयन गर्न माग गरेका थिए ।
यस्तै सीमांकन र समावेशी समानुपातिक लगायतका राजनीतिक मागका विषयमा पनि सरकारले उचित सम्बोधन गर्नुपर्ने माग राख्दै सो पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बैठकमा राखेका थिए ।
तर सरकारी वार्ता टोलीका सदस्यहरुले भने विगत भएका निर्णयहरु कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै नाकाबन्दीसहितको आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा मधसी मोचाका नेताहरुले भने सबै कार्यान्वयन भएपछि मात्रै आन्दोलन रोकिने जवाफ दिएका थिए ।मधेसी मोर्चाले उठाएका मागप्रति सरकार सकारात्मक रहेको  भन्दै वार्ता टोलीका सदस्य  तथा वनमन्त्री महेश आचार्यले आज दुई पक्षबीच आ–आफ्नो कुरा राख्ने काम भएको र भोलि फेरि वार्ता  हुने बताए ।
आजको वार्ता मा मोर्चाले विभिन्न ३५ बुँदे माग समेत राखेको थियो ।मोर्चाद्वारा गठित वार्ता टोलीको हिजो सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय  गरेअनुसार आज पहिलो चरणको वार्ता भएको हो  । मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो ।मोर्चाको वार्ता टोलीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, तमलोपाका महामन्त्री शवेन्द्रनाथ शुक्ला, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावनाका वरिष्ठ नेता रामनरेश यादव रहेका छन् भने सरकारी वार्ता टोलीमा वनमन्त्री महेश आचार्य, एमाले नेता अग्नी खरेल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..