
रुपन्देही जिल्लाका हज तीर्थयात्रीको टोली भदौ २१ र २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी अरबका लागि प्रस्थान गर्ने छन् । यस जिल्लाका २६६ जनाको केन्द्रीय हज समितिमा आवेदन परे पनि कोटा अभावका कारण ११२ जना यस वर्ष हज गर्न जानबाट वञ्चित हुने भएका छन् ।
साउदी अरब सरकारले नेपाललाई हजयात्राका लागि एक हजार कोटा मात्र दिएपछि ११२ जना हज गर्नका लागि जान नपाएका हुन् ।
देशभरबाट एक हजार ४१६ जनाले आवेदन दिएका थिए, कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसङ्ख्याको आधारमा गोलाप्रथाबाट हजयात्रामा जानेको नाम छनोट गरेको थियो ।
यो वर्ष नेपाल सरकारले हजयात्राका हाजीको हवाई भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि केन्द्रीय हज कमिटीले प्रतिव्यक्ति रु एक लाख ८५ हजार अनुमानित खर्च लाग्ने आँकलन गर्दै हजका लागि आवेदन दिएका सबैलाई साउन मसान्तभित्र पैसा जम्मा गर्न आग्रह गरेको थियो ।
जान नपाएका निवेदकको राहदानी तथा जम्मा गरेको रकम यथाशीघ्र फिर्ता गरिने र आगामी वर्षको हजयात्रामा पहिलो प्राथमिकतामा राखिएको केन्द्रीय हज कमिटीको सचिवालयले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत जनाएको छ ।
मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवाको भनाइ छ । इस्लाम धर्मावलम्बीको जीवनमा एक पटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ, मुस्लिममा हज’ गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ ।
हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउनुका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्चल र पवित्र हुने धार्मिक विश्वास छ र हजयात्रीले बक्रइदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने चलन रहेको छ । हज यात्रा गरी आउनेलाई हाजी भन्ने गरिन्छ ।
No comments: