» » करोडौँको कच्चापदार्थ बन्दले विभिन्न नाकामा विग्रियो

वीरगनज, भदौ २१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका केही दलहरुको आह्वनमा धेरै दिनदेखी लगातारको बन्दका कारण विभिन्न् नाकाहरुवाट भित्र्याउन लागिएको करोडौं रुपैयाँ बराबरको औद्योगिक कच्चा पदार्थ र अन्य मालबस्तु खेर गएको छ ।
बन्दका कारण वीरगंज नाकावाट आयातनिर्यात ठप्प भएपछि मालसामान भारतीय रेल्वेको रक्सौलस्थित गोदामबाहिर जथाभावी अनलोड गरिएको छ । खुला ठाउँमा राखिएका कतिपय मालबस्तु बर्खाको पानीले भिजेर कामै नलाग्ने भएको आयातकर्ताहरुले बताएका छन् । रेल्वेको रक्सौल गोदाम पर्याप्त नहुँदा अधिकांश मालसामान खुला स्थानमै अनलोड गरिन्छ । खुला ठाउँमा अनलोड हुँदा सामान बर्खाको पानीले भिज्ने गरेको छ ।
आयातकर्ताले रक्सौलसम्म आइपुगेको सामान बन्दका कारण गन्तव्यसम्म पु¥याउन पाएका छैनन् । खुला ठाउँमा जथाभावी राखिएको सामानमध्ये क्लिङ्कर, सिमेण्ट, खाद्यान्न, नुनजस्ता मालबस्तु पानीले भिजेर बिग्रिएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् आयातकर्ता अशोककुमार  वैदले रक्सौलसम्म आइपुगेका मालसमान भित्र्याउन नपाउँदा पानीले भिजेर नष्ट भएको बताए । सिमेण्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिङ्कर ठूलो परिमाणमा खेर गएको बैदको भनाइ छ ।
‘एक त कच्चा पदार्थ खेर गइरहेको छ, अर्का्तिर रेल्वेको जरिवानाले ढाड सेकिएको छ’, उद्योगी बैदको गुनासो छ । वीरगञ्ज नाकाबाट मात्र यस क्षेत्रका सानाठूला करीब एक दर्जन सिमेण्ट उद्योगले कच्चा पदार्थ आयात गर्दछन् । वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले पनि बन्द र कफ्र्युका कारण माल छुटाउन नपाउँदा आयातकर्तालाई मार परेको बताए । शर्माका अनुसार सामान्य अवस्थामा दैनिक ४० गाडीको हाराहारीमा क्लिङ्कर पास हुने गरेको थियो । मधेसवादी मोर्चाले गत साउन ३० गतेदेखि बन्द आह्वान गरेपछि आयातनिर्यात ठप्प भएको छ ।
उद्योगी राजेश क्यालले पानीले भिजेको ६० प्रतिशत क्लिङ्कर कामै नलाग्ने भएको बताए । भिजेर जोगिएको कच्चा पदार्थको गुणस्तरमा पनि कमी आउने उद्योगी क्यालको भनाइ छ । ‘आयातकर्तालाई चौतर्फी मार परेको छ । कच्चा पदार्थ त खेर जान्छ नै रेल्वेलाई जरिवाना र बैङ्कको ब्याजलगायतका अदृष्य खर्चको भार बेग्लै छ,’ उनले भने । भारतीय रेल्वेले यार्डमा अनलोड भएको १२ घण्टाभित्र मालबस्तु नउठाए बिलम्ब शुल्क लिन्छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा मात्र बन्दका कारण दैनिक ५० करोड रुपैयाँबराबरको आर्थिक नोक्सानी हुने अनुमान अध्यक्ष केडियाको छ ।     स्थानीय प्रशासनले दिनहुँजसो सुरक्षा घेरामा केही गाडी पठाए पनि पर्याप्त हुन सकेको छैन । सामान्य अवस्थामा वीरगञ्जबाट दैनिक ८ सय गाडी पास हुने गरेकोमा सुरक्षाकर्मीले विगत सात दिनमा १ हजार ४ सय ५१ ओटा गाडी पठाएको छ । सुरक्षाकर्मीले पेट्रोलियम र दैनिक उपभोग्य बस्तुका गाडीलाई मात्र प्राथमिकता दिएकाले औद्योगिक कच्चा पदार्थ भित्र्याउन नसकिएको उद्योगीहरुको गुनासो छ । सडकमार्गमा समेत भारतीय सहर रक्सौलदेखि सुगौली करीब २५ किलोमिटरसम्म औद्योगिक कच्चा पदार्थ र अन्य बस्तु बोकेका हजारौं ट्रक लाम लागेर बसेका छन् । बाटोमा रोकिएका ट्रकबाट मालबस्तु चोरीसमेत बढ्न थालेको आयातकर्ताहरुले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..