» » वार्ताका लागि तीन दलले आह्वान गरेको विज्ञप्ति यस्तो छ


संविधान घोषणा उत्सव मनाउन संयुक्त आह्वान !
२००७ सालदेखिको लामो बलिदानपूर्ण संघर्ष र कष्टसाध्य प्रयत्न पछि आफ्नो संविधान आफ्ना प्रतिनिधि मार्फत आफै बनाउन नेपाली जनताले युगान्तकारी सफलता प्राप्त गरेका छौं । यस उपलब्धिपूर्ण ऐतिहासिक क्षणमा हामीहरु देशको स्वाधीनता तथा स्वतन्त्रता र जनताको हक, अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । लोकतान्त्रिक आन्दोलनको मोर्चामा डटेर योगदान गर्ने सम्पूर्ण जनसमुदायमा अभिनन्दन गर्दछौं र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउँदै समृद्ध नेपालको निर्माणमा कटिबद्ध रहने प्रण गर्दछौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सार्वभौम नेपाली जनताबाट निर्वाचित संविधानसभाबाट जारी भइरहँदा हामीलाई नेपाली राजनीतिका ती सबै कठीन, चुनौतिपूर्ण र उथलपुथलकारी दिनहरुको स्मरण भइरहेको छ । नेपाली जनताको साथ र समर्थनमा हामीले अनेकौं चुनौती र आरोह–अवरोहको सामना गरेका छौं । जनक्रान्ति र अग्रगामी परिवर्तनको झण्डा उठाएका छौं । भिन्न–भिन्न राजनीतिक दृष्टिकोण र पृष्ठभूमिका राजनीतिक दलहरुले एक आपसमा मिलेर संविधान निर्माण गर्नुपर्ने स्थितिमा समेत हामी नेपालको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनलाई आत्मसात् गर्दै सबै प्रकारका विभेदहरुलाई समाप्त गरी संविधान सभाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने संविधान पारित गर्न सफल भएका छौं । अब एकताबद्ध भएर संविधानमा अभिलिखित लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नु पर्छ ।
विविधतामा एकता, सात प्रदेश सहित समानुपातिक समावेशी सिद्धान्तमा आधारित संघीय प्रणाली, शक्ति पृथकीकरण, समानुपातिक प्रतिनिधित्व सहितको मिश्रित निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र, अधिकारसम्पन्न स्थानीय तह, जनउत्तरदायी कार्यपालिका, दुई सदनात्मक व्यवस्थापिका र स्वतन्त्र न्यायप्रणाली संविधानका विशेषता बनेका छन् । पूर्ण प्रेस स्वतन्त्रता र सनातनदेखिको धर्म संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रताको प्रत्याभूति सहित धर्मनिरपेक्षताको व्यवस्था गरिएको छ । कुनैपनि नेपालीले नागरिकताबाट बञ्चित हुनु नपर्ने र आमा वा बाबुको नामबाट सहजै नागरिकता प्राप्त हुने प्रावधान रहेको छ । मौलिक हकमा जनताका सामाजिक न्याय, समानता र स्वतन्त्रता सम्बन्धी हकहरु व्यवस्थित छन् । महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिम समुदायका हक–हितका लागि आयोगहरु गठन हुने व्यवस्था   छ । समावेशी आयोग र भाषा आयोगको माध्यमबाट अन्य समुदायका हक, हित र भाषा संस्कृति सम्बन्धी सरोकारको सम्बोधन हुनेछ । महिला र दलितहरुको राजनीतिक प्रतिनिधित्वका लागि विशेष प्रबन्ध गरिएको छ ।  राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको दिशामा राज्य निर्देशित छ । राष्ट्रिय सुरक्षा र नेपाली जनताको एकतालाई महत्व  दिइएको छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको छ । संघीयताको सिद्धान्त र मान्यता अनुरुप जनताको जीवन सुखी र सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय तहका बीच अधिकारको व्यवस्थित रुपमा बाँडफाँड गर्दै सहयोगात्मक र समन्वयात्मक संघीयता अंगिकार गरिएको छ । यसरी संविधान सभामा लामो बहस र छलफल पछि हामी सबैले गौरव गर्न सक्ने लोकतान्त्रिक संविधान बनेको छ ।
संविधान सभाबाट संविधान पारित भएको यो क्षण हामी सबैका लागि गर्वको अवसर मात्र होइन नेपाली जनताको एकता र विजयको क्षण पनि हो । संविधानका धारा र शब्दहरुमा नेपाली जनताका आकांक्षा र भावना मुखरित छन् जो विगतका संविधानका व्यवस्थाभन्दा अग्रगामी छन् । समानुपातिक समावेशी सिद्धान्त अनुरुप राजनीतिक प्रतिनिधित्वको व्यवस्थाका साथै सार्वजनिक सेवामा अन्तरिम संविधानको भावना र हुँदै आएको अभ्यास अनुरुप समानुपातिक समावेशी सिद्धान्तमा हामी कायम छौं । यसै अनुसार संविधानको सामाजिक न्यायको हकमा व्यवस्था गरिने छ । निर्वाचन क्षेत्र निर्धारणका विषयमा हाल कायम प्रशासनिक जिल्लाको भौगोलिक क्षेत्रमा कम्तिमा एक निर्वाचन क्षेत्र राखी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने व्यवस्था गरिने छ । प्रदेशको सीमाङ्कनका सन्दर्भमा देशका विभिन्न भागमा देखिएका विषयहरुमा संघीय आयोगको अध्ययन सिफारिशका आधारमा सहमति कायम गर्दै संविधानमा आवश्यक परिमार्जन गर्न हामी तत्पर   छौं । कतिपय विषयहरुलाई रुपान्तरित व्यवस्थापिका–संसदबाट सम्बोधन गर्न सकिने तर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।
नेपालको संविधान स्वयं गतिशील दस्तावेजको रुपमा आएको छ । यस संविधानका कतिपय व्यवस्थाहरु विभिन्न राजनीतिक दलहरुका बीचको समझदारी र सम्झौताबाट प्रभावित भएको सबैलाई थाहै छ । अहिले पनि हाम्रा बीचमा कतिपय विषयमा मत–मतान्तर रहेका छन् । तर लोकतन्त्र, राष्ट्रिय हित, एकता र समृद्धिको बाटो संविधानमा दृढताका साथ अंगिकार गरिएको   छ । संविधानले सुधार र परिवर्तनका लागि फराकिलो बाटो लिएकोे छ । अतः हामी भविष्यमा देश र जनताका लागि आवश्यक तथा विभिन्न समुदायका आकांक्षा र मागहरुको परिपूर्तिका निम्ति पाइला चाल्न सक्छौं । संविधानमा आवश्यक संशोधन गरी अझ परिष्कृत र सबल बनाउन  सक्छौं । यस तथ्यलाई मनन गरी कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता र समझदारीले गर्न तथा संविधान घोषणाको ऐतिहासिक उत्सवमा सहभागी हुन हामी संविधान सभाबाट बाहिरिएका र संविधानसभा भन्दा बाहिर रहनु भएका सबै राजनीतिक दल तथा नेताहरुलाई हार्दिक आह्वान गर्दछौं । नेपाली जनताको चीर प्रतिक्षित आकांक्षा पूरा भइरहेको समयमा कुनै आशंका र आवेगले होइन एकताबद्ध भएर राष्ट्रको एकता, प्रगति, समृद्धि, स्वाधीनता र स्वाभिमानका लागि जुट्न हामी आग्रह गर्दछौं ।
नेपालको समग्र शान्ति प्रक्रिया तथा संविधान निर्माणमा महत्वपूर्ण सहयोग र समर्थन प्रदान गर्दै आएका छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट संविधान सभाले जारी गरेको संविधानको स्वागत हुनेमा हामी विश्वस्त छौं । हालसम्म प्राप्त सहयोग र समर्थनका लागि छिमेकी मित्र राष्ट्रहरु तथा अन्तर्राष्ट्रिय समुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
संविधान पारित भई जारी हुनलागेको यस सुखद् अवसरमा सम्पूर्ण नेपाली जनतालाई विविध किसिमले खुशियाली, उत्सव र समारोह मनाउन हामी हार्दिक अपिल गर्दछौं । इतिहासमा एक पटक  आउने यस्तो सर्वाधिक महत्वको अवसरमा खुशियाली उत्सवमा सहभागी हुन कोही कसैले पनि पछि पर्नु वा बञ्चित हुनुहुन्न भन्ने हाम्रो मान्यता छ । अतः देशव्यापी रुपमा असोज तीन गते साँझ  दीपावली गर्न र चार गते जनसभा लगायतका विविधि कार्यक्रम सहित संविधान घोषणा उत्सव मनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई व्यापक रुपमा स्वागत गर्न तथा नेपालको उज्यालो भविष्यप्रति आश्वस्त हुन हामी स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दीदीबहिनी र दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछौं ।

सुशील कोइराला प्रधानमन्त्री
तथा
सभापति
नेपाली कांग्रेस

के.पी.शर्मा ओली
 अध्यक्ष
 नेकपा (एमाले)                        

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष
एनेकपा(माओवादी)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..