» » अपडेटःमधेशी मोर्चाको शुरु


श्यामसुन्दर यादव

सप्तरी, असोज ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक मङ्गलवार साँझदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रारम्भ भएको छ ।

       स्वायत मधेश प्रदेशसहितको माग राखी जारी आन्दोलनको विषयमा समिक्षा गर्दै आन्दोलनलाई थप सशक्त बनाउनका लागि आगामी रणनीति, कार्यदिशा लगायतको विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी, फोरम नेपालका उपाध्यक्ष रेणु यादव, महासचिव रामकुमार मण्डललगायतका नेताहरु सहभागी भएका छन् ।
फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवका अनुसार सविधान जारी भएपछि आन्दोलनलाई कसरी अगाडि बढाउने तथा आन्दोलनको स्वरुप बारेमा पनि छलफल हुनेछ ।
 तराई मधेश सद्भावना पार्टीका अध्यक्ष यादवलाई राजविराज आउन ढिलो भएका कारण बैठक अबेर राती मात्र शुरु भएको जनाइएको छ ।

फोरम नेपालका एक नेताको घरमा  शुरु भएको बैठकमा वर्तमान संविधान विरोधी शक्ति तथा मधेश केन्द्रित दलहरुहरु कार्यगत एकता गरी बृहत मोर्चा बनाएर अगाडि बढ्ने विषयलाई प्राथमिकताका साथ उठाइने एक वरिष्ठ नेताले जानकारी दिए । बैठकमा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादव सोमवारै राजविराज आइपुगेका थिए ।।

राजविराज स्थित गजेन्द्र चौकमा आयोजित बृहत सभालाई  समेत उनले सम्बोधन गरेका थिए । सभामा बोल्दै उनले संविधान विरोधी सम्पूर्ण शक्ति तथा मधेश केन्द्रित दलहरुसँग कार्यगत एकता गरेर आन्दोलनलाई थप सशक्त बनाउने घोषणा समेत गरेका थिए ।

करिब पच्चीस हजार समुदायका बीच उनले आन्दोलनकारी शक्तिहरुसँग हात मिलाउने मात्र नभई काँधमा लिएर आफूहरु शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउने उद्घोष गरेका थिए । सोही सभामा नेकपा माओवादीका केन्द्रिय संयोजक मातृका प्रसाद यादवले अब नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर बृहत मोर्चा बनाउनुपर्ने आह्वान गरेका थियो ।

उनको उक्त आह्वानलाई सभामा सहभागी हज्जारौं जनसमुदायले तालीको गडगडाहटले समर्थन जनाएका थिए । मातृका बैठकमा सहभागी नभए पनि उनी समेत सप्तरीमै रहेका छन् । सप्तरीमा जारी बैठकलाई आम जनताले विशेष महत्वका साथ हेरिरहेका छन् ।

केन्द्रमा सम्पूर्ण मधेशवादी दलहरुसँग कार्यगत एकता हुन नसके पनि सप्तरी जिल्लामा भने दुई महिना अघि नै मधेशवादी दलका स्थानीय नेताहरुले कार्यगत एकता गरी मधेशी मोर्चा गठन गरी आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

यता मधेशी मोर्चा सप्तरीले समेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकमा बृहत मधेशी मोर्चा गठन, संसद छाडेर मधेश संसद तथा सरकारको गठन, बन्दको समयमा ऋणको व्याज मिनाहा लगायतका लिखित सुझाव दिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..