» » संयुक्त सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीद्धारा पुनःपत्राचार

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत थारु संयुक्त सङ्घर्ष समितिलाई वार्तामा आउन पुनःपत्राचार गर्नुभएको छ ।
समितिलाई आज पत्राचार गर्दै उहाँले देश संविधानसभाबाट संविधान निर्माण गर्ने अन्तिम चरण रहेको बताउँदै आपसी संवाद र छलफलका माध्यमबाट समस्याको समाधानका लागि वार्तामा आउन आग्रह गर्नुभएको हो । संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने अन्तिम चरणमा सरकारका तर्फबाट सबै पक्षलाई वार्ता र संवादको प्रक्रियामा आउन निरन्तर आग्रह गरिरहेको पत्रमा उल्लेख छ ।

वार्ता र संवादलाई परिणाममूलक बनाउन समितिका तर्फबाट आन्दोलनका सन्दर्भमा राखिएका सातबुँदे माग र विषयप्रति सरकार गम्भीर रहेको बताउँदै समस्याको समाधान शान्तिपूर्ण छलफलद्वारा गर्न प्रतिबद्ध रहेको पत्रमा जनाइएको छ ।

नेपालको इतिहासमा पहिलो पटक जनताका प्रतिनिधिले संविधानभाबाट संविधान बनाउने यो महत्वपूर्ण लोकतान्त्रिक अभ्यासमा देशका सबै क्षेत्र र समुदायका जनताको आकाङ्क्षाको अधिकतम सम्मान र सम्बोधन होस् भन्ने विषयमा सबैले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने जनाइएको छ ।

सङ्घर्ष समितिका प्रवक्ता एवम् सभासद् अमनलाल मोदीले वार्ताका लागि गरिएको आह्वानलाई सकारात्मक रुपमा लिइएको बताउँदै सो सम्बन्धमा समितिको बैठक बसेर थप निर्णय लिइने जानकारी गराउनुभयो ।

यसअघि समितिले प्रस्तुत गरेको सातबुँदे मागमा तराई क्षेत्रमा भइरहेको सैनिक परिचालन फिर्ता गरिनुपर्ने, आन्दोलनका मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचार एवम् उचित क्षतिपूर्ति दिनुपर्नेलगायत छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..