» » रुपन्देहीको बथरीमा मारिएका दुई बालबालिका प्रति आयोगको ध्यानाकर्षण


काठमाडौ भदौ ३१ गते । रुपन्देही जिल्लाको बेथरीमा भाद्र २९ गते सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच दोहोरो झडप हुँदा प्रहरीले चलाएको  गोली लागेर चार वर्षीय चन्दनकुमार पटेल र १३ वर्षीया रन्जना क्षेत्री सहित दुई जना बालबालिका तथा विनोदकुमार लाकौल  र राजकुमार बरहीको समेतको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
लुम्बिनी करिडोरका उद्योगबाट लोड भई आएका  ट्रकलाई प्रहरीले स्कटिङ्ग गरेर ल्याउने क्रममा बेथरी चोकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको भीडन्तमा सुरक्षाकर्मीले गोली चलाउँदा चार वर्षीय बालक सहित चार जनाको मृत्यु भएको आयोगको अनुगमनबाट पाइएको छ ।
उक्त घटनाप्रति आयोग दुःख व्यक्त गर्दै मृतकहरुको बाँच्न पाउने अधिकार हनन् हुन पुगेको आयोगको निष्कर्ष छ । यस घटनाको सम्बन्धमा आयोगको केन्द्रीय कार्यालय र उप–क्षेत्रीय कार्यालय बुटबलबाट गएको अनुगमन टोलीले सोही दिन राती नै भैरहवा अस्पतालमा पुगी घाइतेहरुको अवस्था र घटनाको जानकारी लिएको आयोगकी प्रवक्ता मोहना अन्सारीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनामा पाँच जना सर्वसाधारण तथा नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरी बलका तीन जना प्रहरी घाइते भएको आयोगले जनाएको छ । प्रहरीले गोली चलाउँदा आन्दोलनमा कुनै संलग्नता नभएका अबोध बालक लगायत चार जनाको  मृत्यु हुनुले उनीहरुको बाच्न पाउने अधिकार हनन हुन पुगेको आयोगको विज्ञप्ति छ ।
घटनालाई नियन्त्रणमा लिने उपायहरुको बारेमा आयोगले पटक, पटक ध्यानाकर्षण गराउँदा समेत सोको पालना नगरी पुनरावृत्ति हुनुले मानव अधिकारको संवेदनशिलताप्रति सुरक्षा निकाय संवेदनशील हुन नसकेको आयोगले भनेको छ ।  साथै हाटबजार लागेको सार्वजनिक स्थलमा प्रहरीको गोलीबाट अबोध बालबालिका समेतको मृत्यु हुनु अत्यन्त दुखद छ । उक्त घटना मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धी १९६६, तथा बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ को मर्म र भावना विपरीत रहेको आयोगले ठहर गरेको छ ।  
अतः घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा मृतकका  परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न, घटनामा घाइते भएका सर्वसाधारण तथा प्रहरीहरुको नि.शुल्क प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..