» » सेना फिर्ता नभएसम्म वार्ता नहुने

श्यामसुन्दर यादव
राजविराज, २७ भदौ । सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले मधेशमा परिचालित सेना फिर्ता नगरेसम्म वार्तामा बस्नुको औचित्य नरहेको बताएका छन् ।
मधेशी पत्रकार संघ सप्तरीद्धारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा साहले यस्तो कुरा बताएका हुन् । सरकारले मधेशी निहत्था जनमाथि गोली चलाइरहेको अवस्थामा वार्ताको नाटक गरेर मधेश आन्दोलनलाई कमजोर बनाउने नाटक भइरहेको आरोप लगाउँदै उनले भने– राजमार्गलाई दङ्गा क्षेत्र घोषित गरी सेना परिचालन गरेर वार्ताको नाटक गरिरहेको छ, सेना फिर्ता नगरेसम्म वार्तामा बस्नुको औचित्य छैन ।
विगतमा भएका सम्झौताहरु कार्यान्वयन, परिचालित सेना फिर्ता, शहीद घोषणा, घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरी वार्ताको विश्वासिलो वातावरण बनाउनुपर्नेमा केन्द्रिय उपाध्यक्ष साहले आगह गरे । वार्ताको वातावरण बनेपछि मधेशकै भूमिमा वार्ता हुनुपर्नेमा उनले जोड दिए ।
जारी मधेश आन्दोलन शान्तिपूर्ण रहेको प्रष्ट्याउँदै राज्यपक्षले नै सर्वसाधारण जनतामाथि गोली चलाएर आन्दोलनलाई हिंसात्मक बनाउँदै गएको बताए । उनले भने– यो लडाइ मधेशी र पहाडी बीचको नभई केही मुट्ठीभर शासक विरुद्धको लडाई हो, त्यसैले मधेशमा बस्ने पहाडी समुदायले पनि आन्दोलनलाई सहयोग गरिरहेका छन् र अझ थप सहयोगको हाम्रो अपेक्षा छ ।
अब संविधानसभाको औचित्य नरहेकोले मधेशबाट प्रतिनिधित्व गर्ने सभासद्हरुले संविधानसभा छोडेर सडकमा आउन उनले आह्वान गरे । मधेशी जनताको आवाजलाई बेवास्ता गरी दमन गर्ने काम भइरहेकोले अब संविधानसभामा बस्नुको कुनै औचित्य छैन– केन्द्रिय उपाध्यक्ष साहले भने– मधेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, एमाओवादी लगायतका पार्टीका सभासद्हरुलाई संविधानसभा छोडेर जनताका बीच सडकमा आउन हाम्रो अपील छ । मधेशी जनतामाथि बर्बरतापूर्ण दमन भइरहेको अवस्थामा पनि सत्ता र भत्ताको लोभमा बसिरहे जनताले नै जिल्ला निषेधसम्म गर्न सक्ने बताउँदै अहिले सभासद्हरुको घरमा कालो झण्डा गाडेर सचेत मात्र गराएको उनले प्रष्ट्याए ।
मधेशी जनतामाथि राज्यले छातीमा गोली हान्ने कार्य अविलम्ब बन्द नगरिए अबको आन्दोलन हिंसात्मक समेत बन्न सक्ने उद्घोष समेत गरे । मधेशी पत्रकार संघको अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संघका सह–सचिव शुभनारायण यादवले गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..