» » वार्ताको आवश्यकता छैन


सुरेशकुमार मण्डल
केन्द्रीय सदस्य, तमलोपा

तराई मधेशमा जारी आन्दोलनको क्रममा सिरहामा रही नेतृत्वदायी भूमिकामा रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डल घाइतेको अवस्था बुझ्न हिजो काठमाडौमा आउनु भएको छ । के छ मधेशको अवस्था, काठमाडौ आएर मधेश आन्दोलनप्रतिको काठमाडौको धारणा के पाउनु भएका छ लगायतका विषयमा सहारा टाइम्सले गरेको छोटो कुराकानीः

तराई मधेशमा भइरहेको आन्दोलनमा लामो संघर्षपछि तपाई काठमाडौ आउनु भएको छ, कस्तो छ मधेशको अवस्था ?
–मधेश आन्दोलन शुरु भएदेखि नै मैले यसलाई मधेश आन्दोलन ३ भनि सम्बोधन गर्दै आएको छु । र, पहिला भएको दुईटा आन्दोलनभन्दा अहिलेको आन्दोलन झन सशक्त भएर आएको छ । पहिलो मधेश विद्रोहमा त्यत्रो मधेशी जनताले बलिदानी दिएपछि भएको २२ बुँदे र दोस्रो मधेश आन्दोलनपछि भएको ८ बुँदे सम्झौता कार्यान्वयन नभएपछि मधेशी जनतामा झन आक्रोश बढेको छ र सम्पूर्ण मधेशी जनता सडकमा ओर्लेका छन् । गाउँ गाउँ आन्दोलित भएका छन् । पहिलो मधेश आन्दोलनमा सडकमा नआएका जनताहरु पनि सडकमा आएका छन् । त्यसको कारण हो, सम्झौता कार्यान्वयन नहुनु । यो आन्दोलनको नयाँ माग केही पनि होइन । मधेशी जनताको रगतबाट साटिएको ८ बुँदे सम्झौता कार्यान्वयन नहुनुमा जनतामा आक्रोश बढेको छ र त्यो थेगी सक्नु छैन ।

त्यसो भए यो आन्दोलन कहाँ गएर टुगिंन्छ त ?
–अहिले पनि मधेशी जनता राज्यको बाटो पर्खेर बसेका छन् । धैर्य गरेर बसेका छन् । दुई दर्जनभन्दा बढीको ज्यान गइसक्यो तैपनि मधेशी जनता भनिरहेका छन् कि वार्ता गर । हामी वार्ता गर्न तयार छौ तर राज्यले त्यसको अनसुनी गरिरहेका छन् । वार्ताका वतवारण बनाउन राज्य तयार छैन । वेवास्ता गरिरहेका छन् । यो राज्यको गैरजिम्मेवारीपन हो । यदि यस्तै रहि रहने हो भने मधेश आन्दोलन कुन बाटोमा लाग्छन् भन्न सकिदैन । तर अहिले पनि केही बिग्रेको छैन । म भन्छु यी तीन दलका तीन तथाकथित नेताहरुको बुद्धिको बिर्को चाँडो खुलोस् ।

तपाईले भन्न खोज्नु भएको अर्को बाटो भनेको के हो ?
–मैले अघि भने नि कि त्यो बाटो मधेशले नै तय गर्नेछ । आन्दोलनको आफ्नो मुड हुन्छ र त्यो राज्यको व्यवहारमा भर पर्छ । राज्यले जस्तो व्यवहार गर्छ त्यसैमा भर पर्छ ।

अहिलेसम्म राज्यको व्यवहार कस्तो पाउनु भएको छ ?
–शाही कालभन्दा पनि निरकुँश देखिएको छ अहिलेको राज्य । नेपाली जनताले आन्दोलन गरिरहेका छन् भने कुरा राज्यले बुझिरहेका छैन । अर्कै लोकका जनता वा अर्कै मुलुकका जनताले आन्दोलन गरिरहेका छन जस्तो व्यवहार गरिरहेका छन् । दुश्मन जस्तो व्यवहार गरिरहेका छन् । युद्धमा आफ्नो प्रतिद्धन्दीसँग जसरी राज्यले व्यवहार गर्छन् त्यसरी नै राज्यले अहिले मधेशी जनतासँग गरिरहेका छन् । मधेशमा आन्दोलन शुरु भएको सात दिन नबित्दै सेना परिचालन गरे । मधेशमा के यस्तो घटना भयो जो सेना परिचालन गर्ने आवश्कता पर्यो । सेना परिचालन कस्तो बेलामा हुन्छ भने कुरा राज्यले थाह नभएको होइन तर युद्धमा दुश्मन परास्त गर्ने जस्तो सेना परिचालन गरी मधेशी जनतामाथि दमन गरि रहेका छन् । राष्ट्रिय विप्लव, बाहिर आक्रमणको खतरा, विदेशी सैनिक हस्तक्षेप देखेपछि सेना परिचालन गर्नुपर्ने हुन्छ तर यीमध्ये त कुनै देखिएका छैन नि तर किन के का लागि सेना परिचालन भयो । शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई राज्यले अतिरञ्जित बनाएर आन्दोलनकारीमाथि दमन गर्ने नियतले सेना परिचालन गरेका छन् । सेनाको परमाधिपति राष्ट्रपति हुन्छन् । सेना परिचालन गर्नुअघि राष्ट्रपतिको आदेश चाहिन्छ तर राष्ट्रपतिलाई थाहै छैन । यो कस्तो राष्ट्र हो । आन्दोलनकारीलाई लखेटी लखेटी समातेर सिधै टाउकोमा गोली हानेको छ । छातीमा गोली हानेको छ । प्रहरीहरुले आन्दोलनकारीलाई घेरा हालेर गोली हानेर हत्या गरेका छन् । यो राज्य आतकं हो कि होइन तपाई नै भन्नुस् ।

प्रहरीहरु मारिनु आतकं होइन ?
–मेरो धारणा यो होइन कि प्रहरी मारिनुपर्छ । जो मारिएपनि नेपाली नै मरिरहेका छन् । आन्दोलनकारी मारिएका छन् भने म दुखी छु र प्रहरी मारिएको छ भने म खुशी छु भने होइन तर यो सब गराउनेमा राज्य दोषी हो । यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ । राज्यले यस्तो अवस्था सृजना गराई दियो कि आन्दोलनको झडपमा दुवैतर्फ क्षति भइरहेको छ । प्रहरी र सेनाको आतंकले गर्दा यस्तो भएको हो । यो काम प्रहरीले आफै गरेको होइन । गृहमन्त्रीले निर्देशन दिएपछि गरेको हो । राज्यले योजनाबद्ध तरिकाले यो सब गराई रहेका छन् । बाराको कलैया घटनालाई लिनुस् पाखुरामा गोली लागेका एक आन्दोलनकारीले पानी पानी भनि रहँदा त्यहाँ रहेका डिएसपीले उसको मुखमा पिशाब फेरि दिए र छातीमा तीन गोली हानेर हत्या गरे । वीरगञ्जमा एकैदिन पाँचजनाको हत्या भयो त्यो दिनलाई मधेशी जनताले विर्सेका छैन । वीरगञ्जमा देखिएको प्रहरी र सेनाको आतंकलाई मधेशी जनता कहिल्यै विर्सिने छैन । हिजोको महोत्तरी र धनुषाका घटनालाई हेर्नुस् । बच्चादेखि महिला, बृद्ध कसैलाई छाडेका छैन । घरमा घुसी घुसी हत्या गर्ने काम राज्यबाट भएको छ । यसलाई के भन्नु हुन्छ ।

यसरी नै जनता कहिलेसम्म मारिने हो त ?
–यो अधिकारको लडाई हो । जनताले आफ्नो अधिकार नपाएसम्म लडि रहन्छ । मधेशी राष्ट्रियता, मधेशी पहिचान र अस्तीत्वको लडाई हो । राज्यले नस्वीकारेसम्म चलि रहन्छ । कतिको ज्यान गयो, राज्यबाट कतिको हत्या भयो भने गिन्ती गरेर जनता बसेका छैन । जनताले छाती खोलेर बसेका छन् भन्छन् मार कतिलाई मार्छौ । आजसम्मको इतिहासमा रगत नबगाईकन मुक्ति प्राप्त भएको छैन । परिवर्तन भएको छैन र हामी मुक्तिका लागि रगत दिन तयार छौ ।

तपाई हिजो काठमाडौ आउनु भयो, मधेश आन्दोलन बारेमा काठमाडौमा कस्तो पाउनु भयो ?
–लगभग एक महिनापछि म काठमाडौ आएको हुँ । यहाँ आएपछि त अच्चममा परे । मधेश आन्दोलनले काठमाडौलाई छोएको जस्तो लागेन । मधेश आन्दोलनले काठमाडौलाई कुनै असर गरेको छैन । यहाँका शासकलाई लाग्छ कि अरु कुनै देशमा आन्दोलन भइरहेको छ । आन्दोलनप्रति कुनै सोच छैन । मधेशमा घाइते भएकाहरुको उपचारका लागि यहाँ काठमाडौमा ल्याएको छ । म उनीहरुलाई नै भेट्न आएको छु । विभिन्न अस्पतालमा गएर भेटे । ती घाइते आन्दोलनकारीप्रति राज्यको कुनै जवाफदेही छैन । राज्यमा आफ्नो अधिकारका लागि लडेको हो र त्यसमा घाइते भएको हो जस्तो व्यवहार राज्यले गरिरहेका छैन । बरु अस्पतालहरुमा घाइते आन्दोलनकारीहरु अपमान भइरहेका छन् । उपचारमा खटिएका डाक्टरहरुले पनि राम्रो व्यवहार गरिरहेका छैन । घाइतेहरुको अवस्था राम्रो छैन । उपचारमा हेलचक्राई भइरहेको छ । आन्दोनलमा घाइते भएकाहरुलाई उपचार गर्ने दायित्व राज्यको होइन ? तर राज्य बेखबर छन् ।

यसको समाधान के हो त ?
–म त भन्छु, वार्ताको कुनै आवश्यकता नै छैन । यो आन्दोलनको कुनै नयाँ माग होइन जसको लागि वार्ता होस् । विगतमा हामीसँग भएको २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्दियोस् हामी आन्दोलन रोक्छौ, त्यही हो समाधान ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Compromise संभव छ http://demrepubnepal.blogspot.com/2015/09/compromise.html

    ReplyDelete

..