» » अनिश्चितकालका लागि सविधानसभा बहिष्कार गर्ने नेपाल सद्भावना पार्टीको यस्तो ध्यानाकर्षण



मिति ः– २०७२ भाद्र २२ गते
सम्माननिय अध्यक्ष महोदय,
संबिधानसभा
संबिधानसभा सचिवालय,
सिंहदरबार, काठमाण्डौ ।

विषय ः संबिधानसभा बैठक बहिस्कार गरेको बारे ।

महोदय,

दलित, मुस्लिम तथा पीछडा वर्ग सहितका मधेशी, थारु सहितका तराईका आदिवासी जनजाति, मधेशका अल्पसंख्यक, पहाडका दलित तथा आदिवासी जनजातिहरु नयाँ संबिधानबाट अधिकार सहितको संघियता र संघियता सहितकोे संबिधान जारी हुने कुरामा आशाबादी रहेका थिए । यी जात जाती, वर्ग एवं समुदायका नेपाली जनता संबिधान निर्माण कार्यमा आफनो सम्मानपुर्ण सहभागिताको अपेक्षा राखेका थिए । वर्तमान संबिधानसभा मध्यमार्गीहरुको सभा भएकोले सम्पुर्ण शोषित, पीडित तथा उपेक्षित जात, जाति, समुदाय तथा वर्गको भावनालाई समेटेर नेपालको संबिधान जारी हुने अपेक्षा आम नेपाली जनताले समेत गर्दै आएका थिए ।
वर्तमान समयमा संबिधानसभाबाट संबिधान निर्माण गरि जारी गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । नेपाल सद्भावना पार्टी संबिधानसभाको गठन देखि नै शान्तिपुर्ण रुपमा संबिधानसभा भित्र तथा जनताको बिचमा पनि सबैको स्वामित्व स्थापित हुने संबिधान निर्माणका लागि सशक्त आवाज उठाउंदै संघर्ष गर्दै आइरहेको थियो तर बिगत केही समय देखि नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा (माओबादी) सहितका तीन दलका नेताले अन्तरिम संविधानको भावना र संबिधानसभाको औचित्य र मर्म बिपरित मनोमानी तरिकाले संबिधान निर्माणको काम गरिरहेको र जनअपेक्षा बिपरितका निर्णयहरु गरि नेपाली जनतामाथि एक थान संविधान थोपार्ने मनसायले काम गरिरहेको छ । यसले सम्पुर्ण शोषित, पीडित जनताको आशा तथा अपेक्षा माथि तुषारापात भएको छ । देश भिडन्तको अवस्थामा पुगेकोछ । यो निर्णय नेपाली जनताको शहादतलाई समेत अवमुल्यन गरेकोछ ।
अध्यक्ष महोदय,
नेपालको भावी संविधानको मस्यौदामा सहमति गरिएको संघियताको स्वरुप तथा अधिकार बांडफाड, जनप्रतिनिधित्व, प्रदेशको अधिकारको सूचीलाई अन्यायपुर्ण र तर्कहिन तथा स्थापित मान्यताका बिपरित गरिएको, आयोग, नियोग, प्रतिष्ठानहरुको असमानुपातिक र असमावेशी व्यवस्था, मधेशी संघर्ष र बिद्रोहको अपमान, नागरिकता सम्बन्धि अस्पष्ट प्रावधान सहित दर्जनौं कमी कमजोरी र त्रुटीहरु रहेको छ । जुन कुनैपनि न्यायप्रेमी, लोकतन्त्रवादी र स्वाभिमानी नेपाली जनतालाई मान्य हुन सक्दैन । त्यसैले नेपाल सद्भावना पार्टी यसको घोर बिरोध गर्दछ । संबिधानको वर्तमान मस्यौदा जनहितकारी नभएको र यसमा मधेशी सहितका सम्पुर्ण शोषित पीडित जनताको मुद्दाहरुलाई समेटने कार्य नगरिएकोले नेपाल सद्भावना पार्टी यसका बिरुद्ध आवश्यक परिमार्जन र संसोधन गर्न संबिधानसभामा संसोधन प्रस्ताव समेत दर्ता गराएको थियो । तर हाम्रा संसोधनका प्रस्ताव र मागहरुको बेबास्ता हुँदै परिमार्जित संविधानको विधेयकमा ती विषयबस्तुहरु समावेस भएर आएन । हामी संविधानसभावाट “हाम्रो संविधान, राम्रो संविधान, नेपालको संविधान, सबै नेपालवासीको संविधान” बनाउनका लागि संघर्ष गर्दै आएका थियौं, संविधानको परिमार्जित विधेयकमा संसोधनको प्रस्ताव दर्ता गराउने समय समाप्त भए संगै त्यसको संभावना पनि सकिएकोछ ।
वर्तमान समयमा देश भरि नै संबिधानको मस्यौदाको बिरुद्धमा जनसागर सडकमा आर्लिएका छन् । जनताको शान्तिपुर्ण आन्दोलनमाथि राज्य पक्ष द्वारा बर्बर दमन गरी विभिन्न स्थानमा आन्दोलनकारीलाई गोली ठोक्ने र मार्ने काम गरिदैंछ । सरकार द्वारा सुरु गरिएको राज्य आतंकले नेपालको लोकतान्त्रिक छवि समेत प्रति प्रश्नचिन्ह लागेको छ । जनताको न्यायोचित मांगलाई संबोधन गर्नुको साटो राज्य द्वारा नै हत्या र हिंसाको श्रृंखलाबद्ध सुरुआत गरिएको छ । संबिधानसभा तीन दलको इसारामा नाच्ने कठपुतली जस्तै भएको छ । संबिधानसभाबाट सहमतिको आधारमा शोषित, पीडित, उपेक्षित मधेशी, आदीवासी जनजातिहरु, महिला, दलित, मुस्लिम, थारु, पीछडीएको क्षेत्र, वर्ग र समुदायहरुको भावना समेत समेटिएको संबिधान निर्माण हुने अपेक्षा र आशा माथी तुषारापात भएकोछ, अन्त भइसकेको छ । म र म सम्बद्ध दल नेपाल सद्भावना पार्टी नेपालका शोषित, पीडित, उपेक्षित मधेशी लगायतका जनताका सच्चा हितैषी भएको हुनाले जनता प्रतिको पुर्वाग्रह तथा भेदभाव एवं जनतामाथि राज्य द्वारा भईरहेको दमनलाई चुप लागेर टुलुटुलु हेरेर बस्न सक्दैन र संविधानसभाले मधेशी जनताको समेत हित हुने संविधान जारी गर्ने सम्भावना समेत नरहेकोले संविधानसभामा निर्धारीत समयमा संविधानको परिमार्जित विधेयक माथी संसोधन प्रस्ताव समेत हालिएन ।
 तसर्थ, आफु एउटा जिम्मेवार राजनीतिकर्मी तथा जनप्रतिनिधि भएको नाताले संबिधानसभामा जनतामाथि भईरहेको अन्यायको साक्षी भएर बस्नु भन्दा जनताको बिचमा नै गएर यथार्थ कुराको जानकारी गराउनु आवश्यक ठानेकी छु । अतः संविधानसभाको दैनिक क्रियाकलापमा भाग लिएर बस्नुको समेत औचित्य नरहेकोले नेपाल सद्भावना पार्टी संविधानसभा संसदीय दलको तर्फवाट संविधानसभाको बैठक अनिश्चितकाल सम्म बहिस्कार गर्ने जानकारी गराउन चाहन्छु ।
                                                   धन्यवाद । जय मातृभूमि ।।


           (मा. डा.डिम्पल कुमारी झा)
           सदस्य, संबिधानसभा, नेपाल
                 नेपाल सद्भावना पार्टी


                                                                                                                                                                           
(अनिल कुमार झा)
     राष्ट्रिय अध्यक्ष

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..