» » वार्ताको बारेमा प्रधानमन्त्रीले यस्तो भन्छन्


काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री सुशील कोइरालाले मधेसमा देखिएको विवाद वार्ताबाटै समाधान गर्न सरकार तयार रहेको बताउँदै आन्दोलनरत दललाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ ।

नेपालको संविधान २०७२ जारी भएको उपलक्ष्यमा नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले विगतमा नेपालमा चलेको सशस्त्र द्वन्द्व पनि वार्तामार्फत नै समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै अहिलेको विवाद पनि वार्तामार्फत नै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षले पनि लचकता अपनाएर वार्ताका लागि वातावरण बनाउनु पर्ने बताउनुभयो ।

उहाँले नेपाली जनताको संविधान बनाउने सात दशकदेखिको सपना साकार भएको बताउँदै यसको सबै पक्षबाट स्वागत हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले संविधान निर्माणको काम सकिएकाले अब मुलुकलाई शान्ति, अमनचयन र विकासतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

मुलुकको समृद्धिका लागि विद्यार्थीले पनि विशेष भूमिका खेल्ने बेला आएको प्रधानमन्त्रीको भनाइ थियो ।

चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, सूचना तथा सन्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, काँग्रेसका केन्द्रीय सदस्य, सांसद, विभिन्न राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

आयोजक नेवि सङ्घका अध्यक्ष एवम् सांसद रञ्जित कर्णले संविधान आउनु आफैँमा उपलब्धिमूलक भएको बताउँदै देशका विभिन्न भागमा देखिएको समस्या समाधान गर्न नेपाल आफैँ सक्षम रहेको धारणा राख्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..