» » मधेश आन्दोलनका कारण सुख्खा बन्दरगाहमा अड्कियो मालसमान

वीरगन्ज, भदौ ३१ गते । प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै लगातारको लामो जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भारतवाट आयातित फलामजन्य कच्चा पदार्थ ठूलो परिमाणमा थन्किएका छन् ।

भारतबाट मालबाहक रेलमार्फत सुक्खा बन्दरगाहमा आइपुगेका फलामजन्य कच्चा पदार्थ बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि थन्किएका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार, एक महिनाभन्दा बढी समयसम्मको लगातार बन्द र १८ दिनयतादेखिको जारी निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण मालबाहक गाडी गन्तव्यसम्म जान पाएका छैनन् ।

अहिले बन्दरगाह परिसरमा करिब ४४ हजार टन फलाम उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ थन्किएका छन् । मालबाहक गाडी चल्न नसक्दा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरस्थित फलाम उद्योगले आयात गरेका फलामजन्य कच्चा पदार्थ बन्दरगाहमा थन्किएको फलाम उद्योग सञ्चालकहरुले बताए ।

सुरक्षा स्कर्टिङ्गमा विशेषगरी पट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु प्राथमिकतामा पर्ने भएकाले सुक्खा बन्दरगाहमा आइपुगेका फलामजन्य वस्तु बन्द र हडतालका कारण ढुवानी गरेर गन्तव्यसम्म पु¥याउने अवस्था नभएको उद्योग सञ्चालकहरु बताउँछन् ।

बन्दका कारण सुरक्षा देखाउँदै फलामजन्य वस्तु बोक्ने मालबाहक ट्रकका चालकले पनि सवारी चलाउन नचाहेकाले बन्दरगाह परिसरमै ठूलो परिमाणमा यस्ता वस्तु थन्किएका हुन् । बन्दरगाह गोदामको पश्चिमतर्फको पर्खालसम्मको खाली जग्गामा यसरी आयातित फलामजन्य कच्चा पदार्थले भरिएको छ ।

सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रशासकीय अधिकृत रामबाबु प्रसादका अनुसार वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका जगदम्बा स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन र हुलास स्टिललगायतका उद्योगले भारतको झारखाण्ड राज्यको जमशेदपुर टाटानगरबाट ती कच्चा पदार्थ आयात गरिएका हुन् । आयातित ती कच्चा पदार्थमा एचआर क्वाइल, ब्लेड, डब्लुआर क्वाइललगायतका रहेका छन् ।

बन्दरगाहबाट आयातित मालवस्तु रेलबाट अनलोड गरेको दिनदेखि छ दिनसम्ममा आयातकर्ताले उठाइसक्नुपर्ने व्यवस्था रहेको बताइएको छ । तोकिएको समयसीमाभित्र नउठाए आयातकर्ताले प्रतिदिन प्रतिकिलो ७० पैसाको दरले विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ ।

बन्दरगाहबाट कच्चा पदार्थ ढुवानी गरेर उद्योगसम्म ल्याउने सहज वातावरण नभएका कारण आफ्नो उद्योगका मात्रै झन्डै २५ हजार टन विभिन्न खाले कच्चा पदार्थ बन्दरगाहमा थन्किएको जगदम्बा इन्टरप्राइजेजका व्यवस्थापक अनिल रुङ्गटाले बताउनुभयो । “कच्चा पदार्थको सहज ढुवानी हुन नसकेपछि उद्योगको उत्पादन प्रायः ठप्प भएको छ” उहाँले भन्नुभयो ।

अहिलेको जटिल परिस्थितिको मूल्याङ्कन गरेर बन्दरगाह सञ्चालकले आफूहरुबाट लिइने विलम्ब शुल्क मिनाहा गर्नेमा उद्योग सञ्चालक आशावादी रहेको बताएका छन् ।

एक महिनाभन्दा बढीको लामो बन्द र हडतालले गन्तव्यसम्म जान नपाएपछि फलामजन्य कच्चा पदार्थ मात्रै होइन्, भारत र तेस्रो मुलुकबाट आयातित हजारौँ टन अन्य वस्तु तथा सयौँको सङ्ख्यामा मालबाहक कन्टेनर पनि सुक्खा बन्दरगाहमा थन्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

बन्द र हडतालका कारण गन्तव्यसम्म जान नपाएपछि अहिले नयाँ र पुराना गरी करिब ५०० बढी मालबाहक कन्टेनर बन्दरगाहमा थन्किएका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..