» » मधेशमा आन्दोलनरत पक्षलाई वार्तामा यसरी बोलाए तीन दल (व्यक्तव्य सहित)



काठमाडौ भदौ २३ गते । तराई मधेशमा आन्दोलनरत तराई मधेश लोकतान्त्रिक पार्टी र थारुहट संघर्ष मोर्चालगायतका दललाई वार्तामा आउनका लागि तीन दलले अपिल गरेको छ । आज साँझ कांग्रेस, एमाले र एमाओवादीबीच भएको छलफलले आन्दोलनरत मधेशीवादी दल तथा थारु नेताहरुलाई वार्तामा आउनका लागि अपिल गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ताका लागि यो अन्तिम अपिल हो, यो अवसरलाई आन्दोलनरत दलले क्यास गर्नुपर्छ भन्दै संवादबाटै समाधान खोज्ने प्रतिवद्धतासहित तीन दलले संयुक्त रुपमा अपिल गरेको बताए ।
यो अपिल पछि आन्दोलनरत पक्ष वार्तामा आएन भने सविधान निर्माणको प्रकृया नरोकिने बताउँदै उनले मधेशीवादी दल तथा थारु समुदायका नेताहरुले उठाएको मागबारे सरकार वार्ता गर्न तयार रहेको र वार्ताबाटै समाधान हुने भएकाले आन्दोलनकारीहरु वार्तामा आउने कुरामा आफूहरुलाई विश्वास लागेको बताए ।
 प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाअ‍ोवादी अध्यक्ष प्रचण्डको हस्ताक्षरबाट जारी संयुक्त व्यक्तव्यमा सविधान निर्माण ऐतिहासिक मोडमा आएको बेला सविधानसभा छाड्नु सुखद नभएको उल्लेख गर्दै प्रस्तावित सविधानलाई छलफलको माध्यमबाट थप परिमार्जन गर्न सकिन्छ उल्लेख गरेको छ । मतभेद र द्धन्दको उत्कर्षको बेलामा पनि वार्ता र छलफलको ढोका बन्द हुँदैन भन्दै वार्तामा बस्नका लागि आह्वान गरेको छ ।
देशको कमजोर अर्थतन्त्रमा झन गम्भीर असर पर्ने तथा सर्वसाधारण जनतामा ठूलो कष्ट हुने गरी बन्द र आमहड्ताल जस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालय तथा नीजि सम्पत्तिको तोडफोड र हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिन र सबै समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक तबरबाट खोज्न भन्दै तत्काल वार्तामा आउन अपिल गरिएको छ ।
यसअघि प्रधानमन्त्री सुशिल कोइरालाले भदौ ६ गते वार्तामा आउनका लागि सार्वजनिक अपिल गर्नुभएको थियो । अपिलकै आधारमा वार्तामा नआउने भएपछि प्रधानमन्त्री कोइरालाले भदौ ९ गते आन्दोलनरत पक्षलाई पत्र लेखेर नै वार्तामा आउन आह्वान गरे । प्रधानमन्त्री कोइरालाले पत्र पठाएपछि आन्दोलनरत पक्षले वार्तामा बस्नका लागि आफ्नो शर्त अघि सारे त्यसपछि प्रधानमन्त्री कोइरालाले भदौ १३ गते पुनः आन्दोलनरत दललाई पत्र पठाएका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..