» » मधेशी मोर्चालाई तमरा अभियानको चुनौती (अपिल पत्र सहित)


काठमाडौँ, भदौँ १४ गते । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिदै मधेशकेन्द्रित दलहरुको निर्मम तथा कठोर मूल्यांकन गरिसकेको भन्दैँ आन्दोलन हाँक्ने दाबी गरेका छन् । संयोजक गुप्ताले सोमबार मधेशकेन्द्रित दलहरुलाई सम्बोधन गर्दै जारी गरेको अपीलमा यिनीहरुको मूल्यांकन भविष्यले पनि गर्ने उल्लेख गरेको छ साथै मोर्चाले गरिरहेको आन्दोलनको स्वरूप सम्झौतावादी र आह्वानकर्ताहरू सत्तामुखी रहेको आरोप लगाएका छन् ।
उनले कठोर राज्यसत्ता र भ्रमित जनधारणाको अवस्थामा मधेश र मधेशीको मुक्तिका लागि चाहिएको परिणाम तत्काल प्राप्त नहुने दाबी पनि गरेका छन् । अपीलमा मोर्चाका नेताहरुलाई चुनौती दिदै लेखेका छन्, ‘सत्तासमर्पण र मुद्दा विसर्जनवादीहरूको चंगुलबाट मुक्त गर्दै निर्णायक दिशा तिर लाने काममा हामीले तमरा अभियानका सबै संगठन शक्तिलाई परिचालित गर्नु परेको छ ।’ गुप्ताले तमरा अभियान आन्दोलनभन्दा बाहिर नरहेको भन्दै, ‘हामी अहिले मधेशमा भैरहको मधेसी जनताको आन्दोलनमा छैनौं भन्ने भ्रममा रहनु हुदैन । हो, हामी यी सत्तासमर्पण र मुद्दा विसर्जनवादीहरूसंगको धोकेबाज मोर्चामा छैनौं तर, शसक्त रूपमा सक्रियताका साथ आन्दोलनमा छौं । आन्दोलनलाई अगाडी बढाउन चाहन्छौं ।’ भनी उल्लेख गरेका छन् ।
अभियानले आन्दोलनको कुनै विकल्प नरहेको भन्दै ‘(१) सम्पूर्ण मधेस एक स्वायत्त प्रदेशका लागि, (२) मधेसका भाषाहरूको औपचारिक मान्यताका लागि, (३) समान जनसंख्याका आधारमा पुरै मुलुकमा संसदीय निर्वाचन क्षेत्रहरूको निर्धारणका लागि, (४) केन्द्र र प्रदेशहरूका बीच जनसंख्याको भार, भावी बिकाशका संभावना तथा पूर्वाधारका अवस्थाका आधारमा अधिकारहरूको बांडफांट हुनुपर्ने सवाल, (५) राज्यको शक्ति परिचालनका सबै निकायहरूमा बिभिन्न समुदायहरूको जनसंख्याको समानुपातिक अनुपातमा समावेशीकरण हुनका लागि, (६) सबैखाले स्थायी सत्ताको अन्त्य र बिशेषतः न्यायालय, सुरक्षा निकायहरूको नयां तथा समावेशी रूपान्तरणका लागि, र (७) मधेसमा विद्यमान नेपाली एकात्मक राज्यसत्ताको आन्तरिक औपनिवेशीकरणको समाप्तिका लागि आधारभूत रूपमा केन्द्रीत रहनु पर्दछ’ अपीलमा छ ।

तमरा अभियानको अपील
मधेस आन्दोलनलाई अझ उचाईमा पु¥याउन सबै लागौं ।।
विद्यमान संविधानसभाले मधेसी लगायत मुलुकका कुनैपनि उपेक्षित, उत्पीडित र बहिष्करणमा पारिएका समुदायको हित अनुरुप संविधान बनाउन सक्दैन–यो तमरा अभियानको दृढ मान्यता रहिआएको छ । संविधानसभाको दोस्रो निर्वाचन भन्दा पहिले र पछि पनि हामीले यस तथ्यलाई बारम्बार भन्दै आएका छौं । वि.स. २०७१ सालको कार्तिक २१ र २२ गतेको अभियानको राष्ट्रिय परिषदको निर्णयबाट नै हामीले संविधानसभामा रहेका सबै मधेसी दलहरुलाई राजिनामा दिएर एक शसक्त र निर्णायक आन्दोलन बनाउन पटक पटक र ती नेताहरूको घरघरमा गई अनुरोध गरेको तथ्य छ । सर्वश्री महन्थ ठाकुर, उपेन्द्र यादव, बिजय गच्छदार, राजेन्द्र महत्तो, शरदसिंह भण्डारी र अनिल कुमार झाहरू आजको दुष्परिणामका वारेमा कहिले चिन्ता गर्नु भएन र सचेत रहनु भएन । संविधानसभा भित्र मधेसी, जनजाति, दलित तथा मुलुकका सबै उपेक्षित, उत्पीडित र बहिष्करणमा पारिएका समुदायको हितका बिरुद्ध एकएक गरी निर्णयहरू हुदै जादां यी नेता जीहरू कहां थिए र किन मौन रहें–एक दिन भावी इतिहासले यस प्रश्नको जवाफ मांग्ने नै छ । इतिहासले यिनीहरूको निर्मम तथा कठोर मूल्यांकन गरिसकेको छ । भविष्यले पनि मूल्यांकन गर्ने नै छ, तसर्थ हामी यी सत्तासमर्पण र मुद्दा विसर्जनवादीहरूको थप आलोचना गर्न चाहदैनौं ।
तराई मधेस राष्ट्रिय अभियान निरन्तर आन्दोलनमा छ । हाम्रो मान्यता अनुसार आन्दोलनको कुनै विकल्प छैन । यो आन्दोलनः (१) सम्पूर्ण मधेस एक स्वायत्त प्रदेशका लागि, (२) मधेसका भाषाहरूको औपचारिक मान्यताका लागि, (३) समान जनसंख्याका आधारमा पुरै मुलुकमा संसदीय निर्वाचन क्षेत्रहरूको निर्धारणका लागि, (४) केन्द्र र प्रदेशहरूका बीच जनसंख्याको भार, भावी बिकाशका संभावना तथा पूर्वाधारका अवस्थाका आधारमा अधिकारहरूको बांडफांट हुनुपर्ने सवाल, (५) राज्यको शक्ति परिचालनका सबै निकायहरूमा बिभिन्न समुदायहरूको जनसंख्याको समानुपातिक अनुपातमा समावेशीकरण हुनका लागि, (६) सबैखाले स्थायी सत्ताको अन्त्य र बिशेषतः न्यायालय, सुरक्षा निकायहरूको नयां तथा समावेशी रूपान्तरणका लागि, र (७) मधेसमा विद्यमान नेपाली एकात्मक राज्यसत्ताको आन्तरिक औपनिवेशीकरणको समाप्तिका लागि आधारभूत रूपमा केन्द्रीत रहनु पर्दछ । हामीलाई थाहा छ, अहिलेको आन्दोलनको स्वरूप, सम्झौतावादी–सत्तामुखी आह्वानकर्ताहरू, कठोर राज्यसत्ता र भ्रमित जनधारणाको अवस्थामा मधेस र मधेसीको मुक्तिका लागि चाहिएको परिणाम तत्काल प्राप्त नहुन पनि सक्छ । तरपनि हामी मधेसी जनताका साथमा छौ । हामी निर्णयक आन्दोलनका पक्षमा छौ । अहिलेको आन्दोलनलाई चार मधेसी दलहरू (सत्तासमर्पण र मुद्दा विसर्जनवादीहरू) को चंगुलबाट मुक्त गर्दै निर्णायक दिशा तिर लाने काममा हामीले तमरा अभियानका सबै संगठन शक्तिलाई परिचालित गर्नु परेको छ ।
हामी अहिले मधेसमा भैरहको मधेसी जनताको आन्दोलनमा छैनौं भन्ने भ्रममा रहनु हुदैन । हो, हामी यी सत्तासमर्पण र मुद्दा विसर्जनवादीहरूसंगको धोकेबाज मोर्चामा छैनौं तर, शसक्त रूपमा सक्रियताका साथ आन्दोलनमा छौं । आन्दोलनलाई अगाडी बढाउन चाहन्छौं । यस निर्देशनलाई स्पष्ट रूपमा बुझेर, आत्मसात गरेर जोडदार रूपमा आन्दोलनमा लाग्न, नेतृत्व दिन तमरा अभियान संगठनका सबै सदस्यहरूलाई अपील गर्दछ । साथै, अहिलेसम्म मधेसी जनताले देखाएको बीरताको उच्च सम्मान गर्दै, सबै शहीदहरूका प्रति नमन गर्दै जोडका साथ आन्दोलनलाई नयां उचाईमा पु¥याउन सबै जनता, मधेसी समुदाय, थारू–आदिवासी जनजाति, मुसलमान, दलित, पिछडावर्ग लगायत सबैमा हार्दीक अनुरोध गर्न चाहन्छौं ।
मितिः भाद्र १४ गते, २०७२

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..