» » रक्षावन्धनको इतिहास र महत्व

–विजय कुमार
विश्वकै पुरातन धर्म हिन्द धर्मलाई मानिन्छ । हिन्दु धर्मको पनि आफ्नै धर्म, धार्मिक तथा साँस्कृतिक पर्वहरु छन् त्यस मध्येका जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीहरुले धुमधामका साथ मनाइन्छ । रक्षाबनधनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै -यज्ञोपवित_ फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि -कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र_ तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । स्वाध्याय, अतिथि सत्कार, पितृ तर्पण, भूतबली, होम जस्ता दैनिक गर्नुपर्ने पञ्च महायज्ञको कर्मलाई स्मरण गराउने दिनको रूपमा पनि ताकाधारीहरू यो पर्व मनाउने गर्छन ।
अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । जनैमा प्रयोग्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । जनैपूणिर्माको दिन हातमा बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाइको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ ।
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा बाहुनहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षा भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बाँधेर टिका लगाईदिने गर्छन । बदलामा मान्छेहरूले बाहुनलाई रूपयाँ पैसा दिने गर्छन ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा लिइन्छ । यो दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ ।

रक्षाबन्धन पर्व भारत लगायत तराई मधेशमा वडो उत्साहित भएर दिदीबहिनीर दाजुभाई वीच मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षा बाँधेर, टिका लगाएर मिठाई खुवाउछन । भाईले बहिनीलाई केही उपहार दिन्छ अथवा रूपयाँ पैसा दिन्छ तथा बहिनीको रक्षा गर्ने वचन दिन्छ । मधेशमा रक्षा बन्धन वडो उत्साह पूर्वक बहिनीले भाईको हातमा राखी वाँधेर मनाउने चलन रहेको छ । साउन पुर्णिमाको दिन प्रातः नुहाइ धुवाइ गरेर बहिनहिरुले पुजाको थालीमा राखीको साथमा दिप,चन्दन,मिठाइ इत्यादी लिएर अभिष्ट भन्ने देवतालाई सम्झेर दाजुभाइलाई टिका लगाएर मिठाइ ख्वाइ, लामो दिर्घायुको कामना गर्दै दाँया हातमा राखी वाँधने मधेशको महिलाहरुको पुरानो चलन रहेको छ । मधेशमा दाजुभाइले बहिनीको रक्षा गर्ने प्रतिवद्धताको साथ उपहारहरु पनि दिइने प्रचलन परापूर्वकाल देखी नै चल्दै आइरहेको मान्यता रहेको छ ।

पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूणिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ । येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।। तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बांधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईंदैन तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामाग्री दिनुको वास्तविक अर्थ खराब चिजको दान गर्ने प्रतीक हो ।

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..